सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नु : निमित्त प्रहरी महानिरीक्षक

काठमाडौँ । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ–आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।

हालै सरुवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटी जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधवार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिएका हुन् ।

निमित्त प्रहरी महानिरीक्षक राईले आ–आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतीको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने बताए ।

नागरिकको भरोसा जित्ने गरी कार्य गर्नुपर्ने बताउँदै निष्ठावान, इमानदार एवम् सृजनशील भई  काम गर्न उनले निर्देशन दिए । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकाल, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी र नेपाल प्रहरी केन्द्रीय प्रहरी सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *