एन्फा महिला फुटबल लिग : जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी

काठमाडौँ । सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लबले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्दै पुलिसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो । आठौँ खेलमा पाँच जित र तीन बराबरीको नतिजा सामना गर्दै पुलिस अपराजित छ । बुधवार पुलिसको जितमा सम्झना लावती चम्किइन् । उनी प्लेयर अफ दी म्याचसमेत घोषित भइन् । यो जितपछि पुलिस आठ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा यथावत् छ । पुलिस शीर्ष स्थानको एपिएफसँग चार अंकले र दोस्रो स्थानको त्रिभुवन आर्मीसँग एक अंकले मात्र पछाडि छ ।

यी तीनैले अब लिगमा समान एक खेल खेल्न बाँकी छ । अन्तिम चरणमा एपिएफले बागमती, आर्मीले कर्णाली र पुलिसले संकटासँग खेल्नेछन् । यी नतिजाले मात्र शीर्ष तीन स्थानको टोलीको टुङ्गो लाग्नेछ । तीन विभागीय टोली नै शीर्ष तीन स्थानमा रहेर सुपर लिगमा पुग्ने पक्का भइसकेको छ । यता बुधवार पुलिससँग पराजित भएपछि कर्णाली जारी लिगमा पुछारमा दोस्रो स्थानमै सीमित हुने पक्का भइसकेको छ । समान ८ खेलबाट चार अंकका साथ पुलिस नवौँ स्थानमा छ । जुन आठौँ स्थानको चन्द्रपुर नगरपालिकाभन्दा चार अंकले पछि हो ।

पुलिसको पाँचौँ जितमा निर्मला उपाध्याय, मनीषा राउत र सम्झना लावतीले गोल गरिन् । कर्णालीले लामो समयसम्म पुलिसलाई रोकेको थियो । तर पहिलो हाफ सकिन लाग्दा गोल सामना गर्यो । खेलको ४४ औँ मिनेटमा निर्मलाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । कप्तान घिमकुमारीको कर्नर प्रहार बललार्ई समीक्षा घिमिरेले दिएको हेडर पासमा निर्मलाले वान टच गोल गरेकी हुन् । त्यो गोलसँगै पहिलो हाफमा पुलिस १–० ले अगाडि रह्यो । दोस्रो हाफ पनि पुलिसले दुई गोल थप्यो ।

५५ औँ मिनेटमा मनीषाले पुलिसको अग्रता दोब्बर पार्दै कर्णालीमाथि दबाब बनाइन् ।

कर्णालीले कप्तान तथा गोलकिपर लिला जोशीको गल्तीमा दोस्रो गोल बेहोरेको हो । करिब २२ यार्ड टाढाबाट पुलिसकी कप्तान घिमकुमारीले प्रहार गरेको फ्रिकिक बललाई गोलकिपर लिलाले समाते पनि हातबाट फुत्काइन् । सोही बललाई मनिषाले गोल गरेकी हुन् । निर्धारित समय सकिन ८ मिनेट बाँकी छँदा पुलिसले तेस्रो गोल गर्दै सहज जित पक्का गर्यो । यसपल्ट पनि पुलिसले फ्रि प्रहारबाट गोल गरेको हो । मनिषा राउतले करिब २४ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार बारमाथि लागेर फर्कियो । लगत्तै सोही बललाई वान टचमार्फत सम्झनाले गोल गोल गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *