कांग्रेसलाई कुनै पनि शक्तिले सिध्याउन सक्दैन : मन्त्री चौरसिया

पर्सा । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले कांग्रेसलाई कुनै पनि शक्तिले सिध्याउन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र लोकतन्त्रमाथि पटक-पटक आक्रमण भएपनि कांग्रेस झनै बलियो बनेर उभिएको बताए ।

उनले शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट नेपाली कांग्रेस पार्टी बनेको भन्दै कांग्रेसमाथि जति प्रहार हुन्छ त्यति नै सशक्त हुने जिकिर गरे । उनले कांग्रेसहरु सबै मिलेर जाने हो भने तीन तहकै सरकारको नेतृत्व आगामी निर्वाचनबाट काँग्रेसले गर्ने दाबी गरे ।

उनले भने,‘आज नेपालमा तीन तहको सरकार छ । नेपाली कांग्रेसमाथि, यो देशको लोकतन्त्रमाथि पटक पटक आक्रमण भएको छ । पटकपटक टेक ओभर भएको छ । २०१७ सालदेखि, २०३० सालसम्मको आन्दोलन होस्, श्रद्धेय नेताहरुको नेतृत्वमा लोकतन्त्रको पुनःवहालीको लागि आन्दोलन भयो । नेपाली कांग्रेस, शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट बनेको पार्टी हो । यसलाई कसैले कति शक्ति लगाएर सिध्याउने प्रयास गरे । तर नेपाली कांग्रेसमाथि जति प्रहार हुन्छ, कांग्रेस त्यति नै सशक्त भएर आउँछ । हामी सबै मिलेर एक भएर जाने हो भने मधेसमा पनि नेपाली कांग्रसको सरकार बन्छ, तीन तहमै अझ सशक्त र शक्तिशाली भएर नेपाली काँग्रेस स्थापित हुन्छ ।’

नेपालमा अहिले तीन तहको सरकार रहेको उल्लेख गर्दै उनले राम्रो काम गरेर जनतालाई सुविधा दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *