निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैन : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताएका हुन् ।

उनले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको बताए । उनले निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गरे । उनले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बतएका छन् । उनले आन्तरिक वा वाह्य लगानीको सुरक्षा सरकारले लिने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताए ।

उनले भने, ‘अहिले पनि सरकार त्यही भनाइमा अडिग छ । निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर, निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिहरु आउनुस्, बसौँ, छलफल गरौँ । समाधान हामीले खोज्ने हो, कोही आएर खोज्दैन । समाधानतर्फ लागौँ । यहाँ कसैले कसैलाई गाली गरेर हुँदैन । अब काम गर्ने बेला हो । यो मौका पनि छ । भाग्यवश भन्नुपर्छ, छिमेकी हुनुका नाताले हामीले विद्युतको सम्झौता मात्रै गरेको होइन, म त संखुवासभाबाट प्रतिनिधित्व गर्ने मान्छे । अरुण तेस्रो अब एक वर्षमा सम्पन्न हुँदैछ, ९ सय मेगावाटको । अरु दुई वटा आयोजनाहरु त्यही कम्पनीले लिइसकेको छ । अन्य क्षेत्रमा पनि लगानी गर्न चाहनुहुन्छ । यस्तो लगानीको आन्तरिक वा वाह्य लगानीको यि सबै लगानीको सुरक्षा सरकारले लिन सक्नुपर्छ र लिन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, लगानीको सुरक्षा गर्ने र व्यवसायीहरुले बढी भन्दा बढी नाफा कमाउन् भन्ने नै हो । जति बढी निजी क्षेत्रले नाफा कमाउनु हुन्छ, त्यति नै बढी राजश्व तिर्ने हो । त्यहाँबाट मात्रै मुलुकलाई सहयोग पुग्ने हो । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व हो । सरकार त्यसमा पछि पर्दैन ।’

मन्त्री खड्काले छिमेकी देशले गरेको सहयोगको प्रशंसा गर्न सक्नुपर्ने बताए । उनले राजनीतिक र आर्थिक हिसावमा ठूलो क्रान्ति गरिरहेका मुलुकहरुको फाइदा लिन सक्नुपर्ने बताए । अहिले अल्मलिने बेला नभएको र सबैकुराको समस्या समाधान गर्नेगरी सरकार अघि बढिरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *