महजोडीको ‘मह जात्रा’ प्रहसन कात्तिक २९ गतेदेखि
काठमाडौं । कात्तिक २९ गतेदेखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रस्तुती दिने भएका छन् ।बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने भएको हो ।
दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहसनमा वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतको प्रस्तुती रहने बताइएको छ ।
प्रहसनको मुख्य उद्देश्य हाँस्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको बताइएको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुऋतिहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गरिने बताइएको छ ।
कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम गर्न लागेकोमा आफू उत्साहीत रहेको बताए । उनले आफूहरु कुनैपनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दलहरुलाई बराबर नजरले हेरेको बताए । उनले शरीरले साथ दिएसम्म आफूले काम गरिरहने बताए ।
कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले मनोरञ्जनलाई पहिलो स्थान दिएर एउटा नाटक बनाएको बताए । उनले दर्शकको मुहारबाट कसरी हाँसो फुस्काउने भन्ने आफूहरुको काम हुने बताए ।
उनले राजनीति सुधारको लागि ४० वर्ष अघिदेखि आवाज उठाउँदै आएपनि अहिलेसम्म सुधार हुन नसकेको बताउनु भयो । राजनीतिक विृकतिलाई हाँस्यव्यंग्यबाट प्रस्तुत गर्ने गरेको उल्लेख गरे । कसैलाई रिस उठ्नेगरी आफूहरुले व्यंग्य नगर्ने बताए ।
मह जोडी दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आएको हो । मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै प्रहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको बताइएको छ ।
यस प्रहसन नेपाली समाजमा हालैका वर्षहरूमा भएका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक घटनाहरूको आलोचनात्मक दृष्टिकोण हुने बताइएको छ ।