एन्फा महिला लिग : सुपर लिग पुग्ने पाँच टोलीको टुङ्गो

काठमाडौँ । तीन खेल बाँकी छँदा नै जारी एन्फा महिला फुटबल लिगको यस संस्करणमा सुपर लिगमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको छ ।

कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आ–आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे । यससँगै जारी एन्फा लिगमा दोस्रो चरणमा पुग्ने पाँच टोलीको टुङ्गो लागेको हो ।

१० टोली सहभागी सिंगल राउण्ड रोबिन लिग पूरा हुँदा अंकतालिकाको शीर्ष पाँच टोलीले सुपर लिगको यात्रा तय गरेका हुन् । बिहीबार कोसीले सुदूरपश्चिम प्रदेशमाथि ४–० र वालिङले चन्द्रपुर नगरपालिकामाथि २–१ को जित निकालेको थियो । यससँगै लिगमा तीन खेल बाँकी छँदै सुपर लिगमा पुग्ने टोली टुङ्गो लागेको हो ।

जितसँगै कोशी ९ खेलबाट १४ अंक जोड्दै पाँचौँ स्थान सुरक्षित गर्यो । सुदूरपश्चिम भने जितविहीन बन्दै लिगको पुछारमा रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ । सुदूरपश्चिमले ६९ गोल व्यहोर्दा ३ गोल मात्रै गर्न सफल भयो । कोसीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिकाले दोस्रो चरण (सुपर लिग) को यात्रा तय गरे ।

बिहीबार एन्फा कम्प्लेक्समा कोसीलाई जित दिलाउन समीक्षा मगरले दुई तथा ममता राउत र खुस्मा राईले समान एक गोल गरे । समीक्षा प्लेअयर अफ दी म्याच पनि भइन् ।

खेलको २४ औं मिनेटमा ममताको गोलमार्फत कोसीले अग्रता लिएको थियो । उनले समीक्षाको पासमा वान टच गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा कोसी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि कोसीले दुई गोल थप्यो । समीक्षाले ५३औं मिनेटमा कोशीको अग्रता दोब्बर बनाइन् । सुनिता सरकारको क्रसलाई समीक्षाले सहजै जाली चुमाइन् । समीक्षाले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गदै कोसीलाई ३–० ले अगाडि बढाइन् । उनले पूर्णिमा राईको पासमा गोल गरेकी हुन् । निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा खुस्माले गोल गर्दै कोसीलाई ४–० को सहज जित दिलाइन् ।

उनले बक्स बाहिरबाटै गरेको प्रहारले जाली चुमेको हो । यसअघि बिहीबार नै भएको पहिलो खेलमा वालिङले चन्द्रपुर नगरपालिकामाथि रोमाञ्चक जित निकाल्दै एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा स्थानमा बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङले चन्द्रपुरमाथि २–१ को जित निकाल्दै सुपर लिगमा स्थान बनाएको हो । लिगको अन्तिम तथा नवौँ खेलमा जितसँगै वालिङ १५ अंकका साथ चौथो स्थानमा छ । वालिङको जारी लिगमा यो पाँचौँ जित हो ।

जितसँगै शीर्ष पाँच स्थान पक्का गर्दै वालिङले सुपर लिगको यात्रा सुरक्षित गर्यो । वालिङको जितमा सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । लिगमा ९ खेल नै खेलेको चन्द्रपुर ८ अंकसहित आठौँ स्थानमा यथावत् छ । एक जित र पाँच बराबरी सामना गरेको चन्द्रपुरले लिगमा आठौँ स्थानमै रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ । चन्द्रपुरका लागि सुनिता सुनारले गोल गरिन् । वालिङले खेलको पाँचौँ मिनेटमा सुक्रिया मियाको गोलबाट अग्रता लिएको थियो । सिसी एनटोङ्गोको कर्नर प्रहार चन्द्रपुरकी गोलकिपर उषा थापाले नियन्त्रणमा लिन नसक्दा सुक्रियाले बललाई जाली चुमाइन् ।

ज्याकलिनले ३७ औं मिनेटमा वालिङको अग्रता दोब्बर बनाइन् । सुष्मा तामाङको उत्कृष्ट क्रस बललाई बक्सभित्रबाट ज्याकलिनले वान टचमै गोल गरेकी हुन् । त्यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । दोस्रो हाफको सुरुमा चन्द्रपुरले गोल फर्काउँदै खेलमा फर्कने संकेत गर्यो । सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई आशा दिलाइन् । सजनी थोकरले मध्य भागबाट पेनाल्टी बक्समा उपलब्ध गराएको बललाई अनमार्क सुनिताले गोल गरेकी हुन् । त्यसपछि केही आक्रमण सिर्जना भएपनि गोल निस्किएन र वालिङले महत्वपूर्ण जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *