नारायणी नदीमा झोलुङ्गे पुल बनेसँगै सुस्तावासीले भने- जोखिमबाट मुक्ति पायौँ

काठमाडौँ । नारायणी नदी पार गर्नका लागि झोलुङ्गे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुसीयाली छाएको छ ।

गत असोज १० गते बिहीबार (हिजो) राष्ट्रपति रामचन्द्र पौडेलले नारायणी नदीमाथि बनाइएको १५७२ मिटर लामो त्रिवेणी महेशपुर (सुस्ता) मल्टिसपान झोलुङ्गे पुल उद्घाटन गरेसँगै स्थानीयवासी हर्षित भएका हुन् ।

उनीहरुले वर्षौँदेखि डुङ्गाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्लाको बजार र सदरमुकाम जानका लागि धेरै सहज भएको प्रतिक्रिया दिएका छन् । सो झोलुङ्गे पुलले आफूहरूलाई धेरै सुविधा दिएकाले आफूहरू सबै खुसी रहेका स्थानीयवासीको भनाई थियो ।

स्थानीयले भनेका छन्, ‘पहिला पुल थिएन । डुंगामा जानुपर्ने अवस्था थियो । अब अहिले पुल बन्यो । सबैलाई सुबिस्ता भयो, राम्रै भयो । हामी धेरै खुसी छौं । ’

सो अवसरमा राष्ट्रपति पौडेलले सो क्षेत्रका लागि एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति पनि शुभारम्भ गरेका थिए । सोलार पावरमा भर पर्नुपर्ने अवस्था अन्त्य भएको भन्दै स्थानीयले आपसी खुसी साटासाट गरे । अब २४ घण्टा नै बिजुली बत्ती आउने आशा आफूहरूले गरेको उनीहरूको भनाई थियो । स्थानीयले भनेका छन्, पहिला सोलार प्लान्टमा चल्दै थियो । अब विद्युत जोडिएपछि यहाँ २४ घण्टा नै विद्युत उपलब्ध हुन्छ । अब रातदिन बत्ती बल्छ भन्ने पनि लागेको छ ।’

सुस्तामा सो पुल बनेसँगै डुंगामा भाडासहित जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । पुलको अभावमा सरकारी सेवा लिन समेत भारतको भूमि हुँदै गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्था थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *