कुलेखानीको ड्याम भरिँदै,उच्च सतर्कता अपनाउन आग्रह

बागमती । अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले शुक्रवार साँझ सूचना जारी गर्दै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रमुख जिल्ला  अधिकारी चिलुवालले आग्रह गरे ।

मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध गरिएको गरिएको छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्दै गएकाले बाँधको सुरक्षालाई मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका रौतहट र सर्लाहीका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *