विश्व पर्यटन दिवस

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी ‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा शुक्रवार घोराहीमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा उनले ‘लुम्बिनी घुमौं’ अभियानलाई व्यापक बनाउने समेत घोषणा गरे । “म सबैलाई एकपटक लुम्बिनी भ्रमण गर्न आह्वान गर्छु, लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । यहाँका हरेक जिल्ला पर्यटकीय हिसाबले उपयुक्त छन् ।”

उनले लुम्बिनी विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको बताउनुभयो । “लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणले अगाडि छ, विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ”, उनले भने ।

उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सृजना गर्ने सकिने बताए । “देशमा केही छैन, केही हुँदैन भन्ने भाष्यका कारण युवा पलायनको स्थितिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । नेपालमा भएका सम्भावना र अवसरको पहिचान गरी यही रोजगारी सृजना गर्नुपर्छ”, उनले भने ।

यसका लागि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाको सम्भावनाको पहिचान गरी काम गर्ने बताउनुभयो । त्यसअवसरमा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धी हासिल गर्न सकिने उल्लेख बताए ।

झाँकी र रैथाने परिकार

पर्यटन दिवसका अवसरमा विभिन्न समुदायको झाँकी, रैथाने परिकार, हस्तकलाका सामग्री प्रदर्शनी गरिएको छ । त्यसअवसरमा तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गी धुन, अवधि संरक्षण प्रतिष्ठान गढवाले अवधि नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवार सेवा समाज दाङको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।

पाल्पा मिस्दी गाउँपालिकाको कौरा नाच, घोराही–१० को थारु समुदायको वडाका नाच, घोराही–१७ का थारु समुदायको सख्या नाच, लुकमेली खाम समाजको भुम्या नाच पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *