कुलेखानी जलाशय भरिँदा दुई गेट खोलियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५.४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।

पानीको सतह बढ्नथालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत्गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत्गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशयमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ ।

केन्द्र प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नु पर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे ।

बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थानीय बासिन्दाहरू समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *