पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् ।

उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न सम्पूर्ण सरोकारवालालाई आवश्यक सहयोग गर्न आग्रह पनि गरे ।

उनले पाथीभरा केवलकारमा स्थानीयलाई सतप्रतिशत रोजगारी दिनेमा आफूहरू सकारात्मक रहेको पनि बताए। संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केवलकारले रोजगारीमा स्थानीयलाई शतप्रतिशत प्राथमिकता दिने उनले उल्लेख गरे ।

उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याइरहेका बेला मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने वातावरण निर्माण नगर्ने काम गलत भएको पनि बताए। ढकालले स्वदेशी लगानीलाई पहिलो प्राथमिकतामा राख्न सके मात्र पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने धारणा राखे ।

उनले पाथिभरामा केवलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाका लागि नभई समग्र ताप्लेजुङ, मुलुकको पर्यटन प्रवर्द्धन, र रोजगारी सिर्जनाका लागि गरिरहेको पनि प्रष्ट पारे। साथै, केवलकारले स्थानीयलाई दिने सेवा र सुविधामा आफूहरू सकारात्मक रहेको पनि जनाए । उनले सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटन विकास र रोजगारी सिर्जनामा योगदान दिने अभियानमा आफूहरू रहेको उल्लेख गरे ।

उनले पाथिभरा केवलकार निर्माणको सबै प्रक्रिया पूरा भएको र १५ महिनाभित्र काम सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए । पाथिभरा केवलकार आयोजना केवल चन्द्र ढकाल र आइएमई ग्रुपको नभएर पाथिभरा, ताप्लेजुङ, कोशी प्रदेश, र समग्र देशकै आयोजना भएकाले सबैको साथ र सहयोगको अपेक्षा रहेको उनले बताए ।

पर्यटन पूर्वाधार निर्माण भए मात्र रोजगारी सिर्जना, व्यवसायिक गतिविधि, र राजस्व वृद्धि हुने भन्दै उनले पाथिभरा केवलकार निर्माण सुरु गरेको बताए । साथै, स्थानीय बालबालिका र वृद्धवृद्धाहरूलाई सेवा दिने योजना रहेको र थप सेवा आवश्यक भए छलफल गर्न तयार रहेको पनि उल्लेख गरे ।

“हामी सातै प्रदेशमा केवलकार निर्माण गरेर मुलुकमा पर्यटन विकास गर्न र रोजगारी सिर्जना गर्ने अभियानमा छौँ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउन ठूलो खर्च गरिरहेको छौँ । तर स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयलाई रोजगारी दिन चाहन्छौँ,” उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *