वर्षाले उपत्यकाको आधा क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिबार करिब २०० मेगावाट मात्र रहेको बताए । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडरहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् ।

पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, वाग्मती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् ।

नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न टोली खटिएको बताए । तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन अप्ठ्यारो भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *