कोशीका मुख्यमन्त्रीले गरे कोशी ब्यारेज र बराह क्षेत्र डुबानको निरीक्षण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुबान क्षेत्रको निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा शनिवार दिउँसो मुख्यमन्त्री कार्की तथा तीन वटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी थिए ।
मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरूको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेका हुन् ।
फसेकाहरूको उद्धार गर्न हेलिकप्टरमार्फत प्रयास भइरहेको छ । यस्तै प्रदेश भर वर्षा भई रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिए ।
अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्धार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ ।
कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ ।