कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

इनरुवा । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।

सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन् ।

सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार सप्तकोशीमा पानीको बहाव अहिले प्रतिसेकेन्ड पाँच लाख २१ हजार क्युसेक नाघेको छ ।

पानीको बहावले खतराको तह पार गरेपछि कोशी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोढा समेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *