सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च, अझै घटेन

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०:२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार गए राति ११ बजेनै जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको थियो । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।

सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।

लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो ।

नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ बजे प्रतिसेकेन्ड चार लाख १८ हजार २८५ क्युसेक, शनिबार राति १२:०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६९० क्युसेक तथा आज बिहान २ बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *