गोरखाबाट काठमाडौं आउँदै गरेको बस दुई दिनदेखि सम्पर्कविहीन, झ्याप्लेखोलामा पुरिएको आशंका

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा अर्को बस पुरिएको अवस्थामा फेला परेको छ । उद्धार टोली हाल सो बसलाई निकाल्न प्रयासरत छ । हालसम्म सो बसको अवस्थाबारे पूर्ण विवरण प्राप्त भइसकेको छैन ।

नागढुंगाका डीएसपी सूर्य सुवेदीले दिएको जानकारीअनुसार पहिरोमा एउटा बस पुरिएको खबरपछि उद्धार कार्य तीव्र पारिएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको थियो । सोही बस नै पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, बस पहिरोमा परेको कुरा अहिले नै पुष्टि भइनसकेको डीएसपी सुवेदीको भनाई छ ।

बस सम्पर्कविहीन भएपछि स्थानीय यातायात समिति र प्रहरीको तर्फबाट खोजीकार्य सुरु भएको थियो । दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार उक्त बसले राति १० बजे खानीखोला क्षेत्रसम्म सम्पर्कमा रहेको तर त्यसपछि सम्पर्क टुटेको जानकारी दिएका छन् । खानीखोला कटेपछि बसको चालक र समितिबीच सम्पर्क हुन नसक्दा हाम्रो चिन्ता बढेको थियो,’ अध्यक्ष खत्रीले भने, ‘अब झ्याप्लेखोलामा पहिरोमा बस परेको खबरले हामीलाई झनै निराश बनाएको छ ।’

पहिरो गएको क्षेत्र जोखिमपूर्ण भएकोले उद्धार कार्यमा चुनौती आएको प्रहरी टोलीले जनाएको छ । घटनास्थलमा ठूलो मात्रामा पहिरो बगेकोले उद्धारकार्यलाई बाधा पुगिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *