पनौती आउने पर्यटकलाई ‘सम्पदा–पासपोर्ट’

काभ्रेपलाञ्चोक । पनौती घुम्न आउने पर्यटकलाई निःशुल्क ‘सम्पदा–पासपोर्ट’ (अनुमतिपत्र) प्रदान गर्न थालिएको छ । पनौती पर्यटन विकास केन्द्रले विश्व पर्यटन दिवसको अवसर परेर आउने पर्यटकलाई निःशुल्क ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्न थालेको हो ।

केन्द्रले पनौतीका महत्वपूर्ण धार्मिक, ऐतिहासिक महत्वका क्षेत्र, विभिन्न जात्रा तथा पर्व, सम्पदा, पदमार्ग नक्शासहितको पासपोर्टको सुरुवात गरेको केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले जानकारी दिए । उनका अनुसार पर्यटकको सहजता र पनौतीको सम्पदाको जीवन्तताका लागि पासपोर्ट महत्वपूर्ण हुनेछ ।

हाल सम्पदा क्षेत्रमा रङ्गरोगन, पर्यटकको आवागमनका लागि निःशुल्क सवारीसाधनको व्यवस्थापन तथा सञ्चालन, स्थानीयलाई सुकुल (गुन्द्री) बनाउने तालिमलगायत कार्यक्रम सञ्चालन गरी स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न थालिएको कर्माचार्यले बताए ।

पनौतीका महत्वपूर्ण क्षेत्रको भ्रमणमा सहयोग पुर्‍याउने उद्देश्यले ‘क्युआरकोड’सहितको पासपोर्ट सञ्चालनमा ल्याएको बताउँदै अध्यक्ष कर्माचार्यले पासपोर्टमा यस क्षेत्रको संक्षिप्त विवरणसहित धामिर्क तथा ऐतिहासिक महत्त्व, जात्रा, पर्वलगायत विविधताका बारेमा उल्लेख गरिएको जानकारी दिए । युनेस्कोद्वारा २५ वर्षअघि यस क्षेत्रलाई ऐतिहासिक क्षेत्रका रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार वि.सं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती–५, ६ र ७ मा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि वि.सं २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको दूरीमा तथा व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

केन्द्रले नयाँ पर्यटकको स्वागत गर्न एवं मायाको चिनोका रुपमा पासपोर्ट दिने व्यवस्था गरिएको जनाएको छ । विश्वसम्पदामा सूचिकृत गर्न प्रास्तावित पनौती सहरलाई विश्वजगत्मा चिनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ले सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *