अन्तर्राष्ट्रिय फोरमका लागि हिँडेका दिपेश–दीपिका आमासँगै झ्याप्ले खोलामा अस्ताए

रुपन्देही । देशकै ठूलो सामुदायिक विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविका अध्ययनरत जुम्ल्याहा दुई दाजु बहिनी दिपेश र दीपिका भट्टराई नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरु शुक्रवार बुटवलबाट काठमाडौँका लागि हिँडेका थिए ।

बुटवलको राजमार्ग चौराहा काउन्टरवाट टिकट लिएर उनीहरु लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा तय भयो । अविरल वर्षाको कारण उनीहरु काठमाडौं नजिकै धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोमा परेर अस्ताए ।

उनीहरु अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ भागलिनको लागि काठमाडौं हिँडेको बताइएको छ । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसइई परीक्षाको तयारीसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश जाने सपना बोकेर काठमाडौं जाँदै हिँडेको बताइएको छ ।

बङ्गलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ । ओलम्पियारमा सहभागी हुने उनीहरूको सोचलाई विद्यालयले पनि साथ र समर्थन दियो । शुक्रवारको वर्षाका कारण देशभर क्षति पुग्ने खतराबारे समाचार सुन्दै काठमाडौंको यात्रा तय गरेका उनीहरू चढेको गाडी शनिवार धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोमा पुरियो । १५ वर्षका दिपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ अस्ताए, जसमा चालकसमेत समावेश थिए ।

पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो ।

कालिका मानवज्ञान माध्यामिक विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैँ ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ थापाले भने, ‘शायद काठमाडौंमा पढ्ने दाइदिदीसँग पनि भेटघाट गर्ने मनसायले दुई/चार दिनअघि नै गएको हुनुपर्छ ।’

उनीहरूले यही वर्ष हुने एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यालयको अपेक्षा थियो प्राचार्य थापाले भने । उनीहरु कक्षा ४ बाट यही स्कुलमा पढेका थिए ।

उनीहरूका दाइदिदी पनि यहीँबाट ‘पास आउट’ भएका हुन्,’ थापाले भने, ‘कक्षा शिक्षकसँग बिदा मागेर गएका हुन् । आमा सीता पनि स्कुलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । कर्णधार भाइबहिनी अस्ताए । हामी ठूलो पीडामा छौं ।’

दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किँदा गाडी पुरिएको खबर पुग्यो ।

स्कुलका शैक्षिक संयोजक दीपक बञ्जाडेले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ को पहिलो सेसन सकाएर दोस्रो चरणमा बङ्गलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताए । सीताका मामा नगेन्द्रराज पाण्डेले भान्जा (होमनाथ)को परिवार पहिरोको विपत्तिमा परेको भन्दै दुःख व्यक्त गरे ।

‘विशाल सपना बोकेर हिँडेका बाबु नानीलाई पहिरोले खोस्यो,’ पाण्डेले भने, ‘भान्जालाई आइतबारसम्म नेपाल बोलाएका छौं । दीपेश–दीपिकाका दाजु दिदी काठमाडौं बसेर पढ्छन् । तीक्ष्ण क्षमताका बाबुनानी कलिलै उमेरमा अस्ताए । हामी शव कसरी ल्याउने भन्ने छलफलमा छौं ।’–हिमालय टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *