माओवादी केन्द्रले भन्यो – सरकार विपद् पूर्वतयारीमा चुक्यो

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका हुन् । उनले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको बताए ।

उनले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताए ।

उनले पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी भएको बताए । उनले तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय हुन नसक्दा विपद्बाट बढी क्षति भएको बताए ।

उनले भने,‘सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्युले सर्वदलीय बैठक बोलाउनुभएको थियो । यही बाढी प्रभावित विषयवस्तुसँग सम्बन्धित रहेर । ढिलो गरी भएपनि सरकारले बैठक बोलायो, हामीले यसको लागि धन्यवाद नै भन्यौँ । सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको कुरा भन्यौँ । विपद् बाजा बजाएर आउँदैन । तर यो पटक जल तथा मौसम विज्ञान विभागले राम्रो पूर्वानुमान गरिदिएको थियो । लगातार तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरिदिएको थियो । त्यसको आधारमा पूर्वसूचना त जारी गर्‍यो । पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी गरेको महशुस गरेका छौँ । सरकारसँग कुरा राख्यौँ । खोज र उद्धारका लागि तदारुकताका लागि आग्रह गरेका छौँ । तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय राम्रो गर्नुपर्छ । सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छौँ । खोज र राहतको काममा केन्द्रित हुने र अरु उपचारसँग सम्बन्धित, अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । यो बेला प्रतिपक्ष, पक्ष नभएर एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छौँ ।’

उनले सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन आग्रह गरेको बताए । उनले खोज र राहतको काममा केन्द्रित हुन र अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिए । अहिले सत्तापक्ष र प्रतिपक्ष भनेर बस्ने बेला नभएकाले सबैले आफ्नो ठाउँबाट काम गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *