सर्वदलीय बैठक

सरकारलाई सुझाव– उद्धार र राहतमा ध्यान देऊ (भिडिओ)

काठमाडौं । राजनीतिक दलहरुले बाढी, पहिरो र डुबान पीडितहरुका लागि तत्काल र राहतको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

विपद्पछि मुलुकमा उत्पन्न संकट समाधानका विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आईतवार अपरान्ह बोलाएका सर्वदलीय बैठकमा पीडितहरुको तत्काल उद्धार र राहत उपलब्ध गराउने लगायतका काममा केन्द्रित हुन सरकारालाई सुझाव दिएको हो ।

बैठकले अवरुद्ध सडक, खानेपानी, टेलिफोन, विद्युत सेवा तत्काल सुचारु गराउनका लागि आवश्यक पहलकदमी तत्काल दिन सम्बन्धित मन्त्रालयलाई सचेत पनि गराएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले बाढी र पहिरोले अझै पनि गन्तव्यमा पुग्न नसकेका नागरिकहरुलाई गन्तव्यमा पुर्‍याउनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, विनाशकारी बाढी र पहिरोका कारण आउनसक्ने महामारीलाई नियन्त्रण गर्ने, विपदमा घरबास गुमाएकाहरुलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने लगायतका निर्णय पनि बैठकले गरेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले भने विपद्मा तदारुकताका साथ काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको थियो ।

उद्धार र राहतको काममा सरकारले केही ढिलाई गरेको कुरा आफूहरुले बैठकमा राखेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए ।

उनले मुख्यतः पीडितलाई उद्धार र राहतको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिँदै त्यस कामलाई प्रभावकारी बनाउन एउटा छुट्टै संयन्त्र बनाउनुपर्ने प्रश्ताव पनि गरे ।

यता, जनता समाजवादी पार्टी, नेपालले पनि सरकारले विपद् व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने काममा सुधार गरेर अघि बढनुपर्ने धारणा राखेको थियो । विपद व्यवस्थापनको काममा सरकारले धेरै कुरामा सुधार गर्नुपर्ने देखिएको कुरा आफूहरुले बैठकमा राखेको सो पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘सरकारले विपद आउँदैछ भनेर सतर्क गराएकोमा धन्यवाद दिएका छौं । तर अरु कतिपय पक्षहरु सरकारले अझै सुधार्नुपर्नेछ ।’

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपद्मा पनि हवाई भाडा बढाउने काम गरेको भन्दै उनीहरुमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । सर्वदलीय बैठकमा राप्रपाका तर्फबाट सहभागी पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपदको बेलामा पनि लुट मच्चाउने किसिमले हवाई भाडादर वृद्धि गरेको भन्दै उनीहरुमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

विपदमा बेला जति लुटे पनि हुने गरी हवाई भाडादर बढाउनेहरुलाई कारबाही गर्न पार्टीले सरकारलाई सचेत गराएको प्रमुख सचेतक शाहीले बताए । उनले विपदमा पीडितलाई राहत दिने काममा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गरिएको बताए ।

प्रमुख सचेतक शाहीले भने, ‘सरकारले विपद्को बेला हवाई भाडा बढाएको छ । विपदको बेला लुट कान्छा लुटको चालामा भाडादर बढाइएको छ । त्यसप्रति हाम्रो आपत्ति छ । श्रीएयरलाईन्स, बुद्ध, यतिलगायता भाडादर बढाएको छ । यसरी विपदको बेला भाडादर बढाएर अप्ठयारो पार्ने, जसरी पनि पैसा कमाउने जुन माध्याम बनेको छ । त्यसमा कारबाही गर भनेर हामीले सरकारलाई भनेका छौं ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका कार्यबहाक अध्यक्ष ईश्वर पोखरेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव बस्नेत, राप्रपा, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *