काठमाडौं उपत्यकामा बाढी पहिरोबाट ५२ को मृत्यु,२७ सय ४० घर डुबानमा

काठमाडौं । गत बिहीबार देखी परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले काठमाडौं उपत्यकामा ५२ जनाको मृत्यु भएको छ । आइतबार साँझसम्म मृतकको संख्या ५२ पुगेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी विनोद घिमिरेले मकालुखबरलाई जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १७ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो। यसैगरी काठमाडौंबाट दुई र ललितपुरबाट ७ जना बेपत्ता भएका छन् ।

अहिलेसम्म काठमाडौंका १४४२ जना, ललितपुरका ६५७ र भक्तपुरका ५६ जना गरी २ हजार १ सय ५५ जनाको उद्धार गरिएको घिमिरेले बताए ।त्यस्तै उपत्यकामा ३१ जना घाइते भएकामा ९ जना डिस्चार्ज भइसकेका छन् ।

प्रवक्ता घिमिरेका अनुसार उपत्यकामा बाढी पहिरोमा परेर २ हजार ७ सय ४० घर डुबानमा परेका छन् । ‘काठमाडौंमा १ हजार ३ सय ४० घर डुबानमा परेका छन् भने ११ घर भत्किएका छन् । ललितपुरमा ९ सय ७८ घर डुबानमा परेका छन् । भक्तपुरमा ४ सय १७ घर डुबानमा परेका छन्,’प्रवक्ता घिमिरेले मकालुखबरसंग भने । उनका अनुसार १ सय ३८ पशुचौपाया समेत मरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *