सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ : यातायातमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् ।

दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिरहेको समेत बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताए ।

उनले भने– ‘यो चाडबाडको बेलामा हवाई भाडा धेरै अत्याधिक वृद्धि हुनेकुरा उठेको छ । त्यस कुरालाई नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ । यही दशैंको बेलामा ५ हजार, ६ हजार भाडा भएका ठाउँहरुमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ । त्यसले गर्दा हामीले नागरिक उडडयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि हामीले अनुरोध गरेका छौं । हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले नै अनुरोध गर्नुभएको छ कि यो बेलामा तपाईहरुले यसरी भाडा नबढाउनुस् भनेर । हामीले व्यवसायीसँग भाडा नबढाउन अनुरोध नै गर्ने हो । त्यो पनि नभए नियमन हुन्छ, गरिन्छ ।’

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दुःखमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताए ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुत समेत गरे ।

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *