एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैलाई उद्धार तथा राहतका काम जुट्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरूलाई आधा १५ दिनका पारिश्रमिक राहत कोषमा योगदानका लागि गरेका प्रस्ताव संसदीय दलबाट पारित भएको छ । प्रधानमन्त्री ओलीले बाढी, पहिरो, क्षति र उद्धारका सम्बन्धमा हालसम्म भएका प्रगतिबारे आज दिउँसो हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताए ।

उनले बाढीपहिरो र प्राकृतिक विपद्बाट मुलुक आक्रान्त भएकामा आफूहरू सबै दुःखित भएको बताउँदै विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । सरकारले घाइतेहरूको यथोचित उपचार गर्ने जानकारी गराए ।

‘सरकारका तर्फबाट उद्धार र राहतको कार्यका साथै अवरुद्ध भएका राजमार्गमा अस्थायी रुपमा बाटो खोल्ने कार्य भएका छन् । सुरुमा उद्धार र राहतका काम पर्याप्त भएनन् भन्ने गुनासो आएका थिए । कुनै गुनासाप्रति हामी प्रतिवाद गर्दैनौँ । जनतालाई परेको दुःख हामीलाई परेको दुःख हो । हामी जनताका सेवक हौँ । सेवाभावका साथ लाग्न म सबैलाई आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने । ‘राहत कोषमा सङ्कलन हुने रकमको सही सदुपयोग गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *