विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारलाई जोड दिनुपर्छ : प्रदीप पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट धेरै क्षति हुन नदिन पूर्वतयारलाई जोड दिनुपर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विपद्बाट ज्यान गुमाएकाहरूको दुःखमा सरकारले शोक घोषणा गरेको बताउँदै देशलाई ठूलो जनधनको क्षति भएको बताए । उनले सवा २१५ जना भन्दा बढी हालैको विपद्जन्य घटनाहरूबाट नेपालीहरूले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार र राहतमा सरकारले आवश्यक काम गरिरहेको बताए ।

उनले विपद् खबर गरेर नआउने भन्दै पहिलैबाट पूर्वतयारी गर्नुपर्ने बताए । पूर्वतयारी राम्रो भए क्षति कम गर्न सकिने बताए ।

उनले भने ‘सरकारले नै शोक घोषणा गरेको छ । एकदमै ठूलो क्षति देशलाई भएको छ । सवा दुई सय भन्दा बढीको संख्यामा नेपालीहरूको ज्यान गएको स्थिति छ । कयौँ घाइते हुनुहुन्छ । कति बेपत्ता हुनुहुन्छ । धेरै जनधनको क्षति भएको स्थिति छ । यस्तो बेलामा हामीले यसलाई आपत्कालीन समयमा छलफल गर्नुपर्ने मात्रै होइन, निर्णय गरेर काम गर्नुपर्ने विषय भएकाले यसलाई हामीले औपचारिक होइन, अनौपचारिक ढंगले छलफल गरेर यसलाई टुंग्याउने कोसिस गरिरहेका छौँ । विपद् खबर गरेर आउँदैन, यति बेला, यति समयमा, यसरी आउँछ भन्नेकुरा थाहा हुँदैन । अब यो भइसकेपछि यसको तयारी गरेर यो संकट मोचन गर्छु भनेर मिल्दैन । केही क्षति भइसक्छ र धेरै क्षति हुन नदिन पहिलादेखि नै तयारी गरेको हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले अहिले संघीयताको अभ्यासका क्रममा रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशमा पनि राम्रा र ठूला अस्पतालहरू रहेको भन्दै तीन तहका सरकारको समन्वयबाट विपद् प्रभावितहरूको उपचारलाई प्रभावकारी बनाउन सकिने बताए ।

राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरूको बारेमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । केन्द्र, प्रदेश र स्थानीय तहले विपद्मा परेकाहरूको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु नै राज्यको अहिलेको दायित्व भएको बताए ।

उनले भने ‘हामी संघीयताको अभ्यासमा छौँ । प्रदेश छ, प्रदेशका पनि ठूलाठूला र राम्रा अस्पतालहरू छन् । त्यहाँ पनि विशेषज्ञ चिकित्सकहरू हुनुहुन्छ । त्यसकारण मलाई लाग्छ यो प्रतिबद्धता व्यक्त गर्नुपर्छ की सबै मिलेर विपद्बाट बच्न लाग्नुपर्छ । राहत उद्धार र विपद्पछिको स्वास्थ्यमा हुने समस्याहरूको बारेमा ध्यान दिनुपर्छ । केन्द्र, प्रदेश र स्थानीयलाई समेटेर साँच्चिकै विपद्मा मानिस पर्नुभयो भने उहाँको उद्धार र उपचार हुन्छ भन्ने सुनिश्चित गर्नु नै हाम्रो एकमात्र आजको पछाडिको उद्देश्य हो ।’

उनले सबै मिलेर विपद्बाट बच्ने काममा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *