प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयो : रक्षामन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताएका हुन् ।

उनले कतिपय अवस्थामा विपद्मा परेकाहरूले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताए । उनले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताए ।

उनले भने ‘सुनकोसी र रोशी खोला जहाँ गहिरो छ । बादल छ । त्योभित्र हेलिकप्टर तुरुन्तै जान नसक्ने । फेरि विपत्तिमा परेका मानिसहरूले पनि प्रहरी नपुगेका र त्यहाँका स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय हुन नसक्दाखेरि कुन ठाउँमा म छु, त्यहाँ हेलिकप्टर बस्न सक्छ कि सक्दैन ? सानो हेलिकप्टर कि ठूलो हेलिकप्टर भन्ने कुरा पहिचान हुन नसक्दाखेरि कहाँ उद्धार गर्ने ? हेलिकप्टर ठाउँ खोज्दै जाँदा पनि कतिपय समय व्यतीत भएको । त्यसकारण जनप्रतिनिधि र प्रहरी पुगेका ठाउँमा एकदम सजिलो भएको छ । हेलिकप्टर कहाँ आउने ? कति जना मान्छे छ ? कुन खालको वृद्धवृद्धा, घाइते छन् ? सजिलो भयो । स्थानीय तहको ठुलो भुमिका हुने रहेछ । कुन गाउँपालिकाको कुन वडामा छु रु कुन टोलमा छु भन्नेसम्म विपद्मा परेका मान्छेहरूले पहिचान गर्न नसक्दा पनि कतिपयको ज्यान गएका छन् ।’

उनले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरूलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *