सरकारको लक्ष्य- दुई दिन भित्र पीडितहरूको खोज तथा उद्धार सम्पन्न गरिसक्ने

काठमाडौँ । सरकारले दुई दिनभित्र विपद् प्रभावित व्यक्तिहरूको खोज तथा उद्धार कार्य सम्पन्न गरिसक्ने जनाएको छ ।

मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।

त्यसैगरी बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य यथाशीघ्र सम्पन्न गर्ने पनि विज्ञप्तिमा समावेश गरिएको मुख्यसचिव अर्यालले बताए ।

उनले भने ‘बाढी, पहिरो र डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारबाट राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको छ । उक्त कार्यलाई यथाशीघ्र सम्पन्न गरिनेछ । विपद् प्रभावित व्यक्तिहरूको खोज, उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ ।’

त्यसैगरी सरकारले सो विपदका कारण करिब १७ अर्ब क्षतिको अनुमान पनि गरेको छ । मुख्य सचिव अर्यालले हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाई पूर्वाधारतर्फ १ अर्ब, कृषि तथा पशुपंक्षितर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको बताए ।

उनले भने ‘हालैको बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएका छन् । जसमध्ये काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् । यस घटनामा हालसम्म प्राप्त वितरण अनुसार २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएका छन् । उच्च जोखिममा रहेका ४३३१ जनालाई उद्धार गरी सुरक्षित स्थापनमा पठाइसकिएको छ । भौतिक क्षतिको प्रारम्भिक आकलन, अनुसार हालसम्ममा खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब र सिँचाई पूर्वाधारतर्फ १ अर्बको क्षति भएको अनुमान छ । यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा नौ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा रहेकामध्ये कुल ६६७ दशमलव ९३ मेगावाट जडित विद्युत क्षमताको १६ वटा विद्युत आयोजनाहरू, कुल ११३९ दशमलव १९ मेगावाट जडित विद्युत क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरू र ५ वटा प्रमुख प्रसारण टावरहरू क्षति भएको छ । कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको अनुमान गरिएको छ । खोज तथा उद्धार कार्यमा ३० हजार ७३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र तत्काल उद्धारका लागि हेलिकप्टर समेत प्रयोग भएको छ । ’

प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्तिमा विपद्मा परी हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते र उच्च जोखिममा रहेका ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थापनमा पठाइसकिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *