ज्येष्ठ नागरिकलाई परिवारमै संरक्षण गर्नुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्येष्ठ नागरिकले सम्मानित जीवनयापन गर्नेगरी परिवारमै संरक्षणको व्यवस्था व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मंगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले ज्येष्ठ नागरिकले जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्दै समाज अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यसका लागि परिवार र समाजले अपहेलित तथा टाढा बनाउने कार्य कानुनी र व्यावहारिक रूपमै रोक्नुपर्ने अध्यक्ष बिजुक्छेको भनाइ थियो । “ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप नयाँ पुस्ताका लागि मार्गदर्शन नै हुन् । त्यसैले उहाँहरूलाई ससम्मान संरक्षणको आवश्यकता छ । भक्तपुर नगरपालिकाले पनि यस्ता नागरिकका लागि आदर निकेतन सेवा छिट्टै सञ्चालनमा ल्याउने र आवश्यक सेवासुविधा प्रदान गर्ने विश्वास छ”, उनले भने ।

कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिको वडा नं ६ खँचामा ज्येष्ठ नागरिकका लागि आदर निकेतन सञ्चालन गर्न आवश्यक तयारी गरिरहेको जानकारी दिए । उनले भक्तपुरको कला, संस्कृति र सभ्यता संरक्षणका लागि पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा ज्येष्ठ नागरिकको सङ्ख्या चार हजार नौ सय २४ रहेको उल्लेख गर्दै उनीहरूको सम्मानका लागि आफूहरूले विभिन्न कार्यक्रम गरिरहेको बताइन् ।

कार्यक्रममा प्रत्येक वडाबाट १० जनाका दरले छानिएका एक सय ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै प्रत्येकलाई पानी तताउने इलेक्ट्रिक जग, फलफूललगायत सामान प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *