लम्बियो मनसुन, हिले दशैंको सम्भावना

काठमाडौं । यो वर्षको दसैंमा पानी पर्छ अथवा मौसम सफा हुन्छ ? औसत समयमा मनसुन नबाहिरिएपछि दसैंसम्म मनसुन रहन्छ कि बाहिरिन्छ भन्ने जिज्ञासा धेरैमा छ ।

दुई वर्षअघिको दसैंमा टीकाकै दिन नेपालका धेरै स्थानमा पानी परेको थियो । यो वर्ष पनि त्यहि हुने हो की भन्ने धेरैको आशंका छ । यसलाई थप बल पुर्‍याएको छ -मनसुन नबाहिरिनुले ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख आज हो । तर मनसुन बाहिरिएको छैन । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार भारतको आसाम आसपासको क्षेत्रबाट न्यूनचापीय मौसम प्रणाली उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको बताए । ‘त्यसले गर्दा आज र भोलि नेपालका मध्य र पूर्वी भूभागहरूमा त्यसको प्रभाव हुने सम्भावना देखिन्छ,’ उनले भने, ‘आगामी तीन दिनलाई मनसुन बाहिरिने सम्भावना छैन ।’

भारतको जल तथा मौसम विज्ञान विभागले आगामी साताको सुरुसम्म उत्तरपूर्वी क्षेत्रका कतिपय स्थानमा भारीदेखि अतिभारी वर्षा हुने भनिएको छ । आसाम र मेघालयसहितका स्थानमा ठूलो वर्षा हुन सक्छ । नेपालको जल तथा मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको आंशिक प्रभाव रहेको बिहान जनाएको थियो ।

कोशी प्रदेशका एक-दुई स्थानमा आज राति र बिहीवार दिउँसो भारी वर्षाको सम्भावना औँल्याइएको छ । बिहीवार राति पनि कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने भनिएको छ । विभागले आगामी २४ घण्टाका लागि कोशी, बागमती र गण्डकी प्रदेशमा सावधानी अपनाउन भनेको छ । खास गरी सडक तथा हवाई यातायात, स्वास्थ्य, पर्यटन, पर्वतारोहण लगायतका क्षेत्रलाई उल्लेख गर्दै सुझाव दिइएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष सेप्टेम्बर ३० सम्मको तथ्याङ्क हेर्दा १,७०६.२ मिलिमिटर वर्षा भइसकेको छ ।

सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने दशैंको टीकाको दिनसम्मै मनसुन कायम रहने सम्भावना छ । यस वर्षको दशैंको टीका असोज २६ गते अर्थात् अक्टुबर १२ तारिकमा छ । ‘मनसुनी वायु रहेसम्म वर्षाको सम्भावना पनि कायमै रहने भएकाले कोशी प्रदेशमा हिले दशैंको सम्भावना रहन्छ,’ मौसमका अध्येता डा. धर्मराज उप्रेतीले भने, ‘तर अघिल्ला दिनहरुको जस्तो भारी र अति भारी वर्षा भने हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *