आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, तर विश्व बैंकले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१% मात्र रहने अनुमान गरेको छ । आज सार्वजनिक गरिएको नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा, नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा ५.१% र सन् २०२६ मा ५.५% रहने प्रक्षेपण गरिएको छ । यो वृद्धि गत आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको भए पनि, हालको बाढीपहिरो र डुबानको असरलाई भने प्रतिवेदनले समेटेको छैन ।

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति लागू गरेपछि थोक तथा खुद्रा व्यापार, निर्माण, र उत्पादन क्षेत्रहरूमा लाभ देखिने, साथै निजी क्षेत्रको लगानीमा वृद्धि हुने अपेक्षा गरिएको छ । सन् २०२४ मा ३०% पर्यटन आगमनको बृद्धिले सेवा क्षेत्रमा वृद्धि हुने, साथै यातायात, आवास, र खाद्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । जलविद्युत् र कृषि उत्पादनले अर्थतन्त्रलाई टेवा पुर्याउने उल्लेख गरिएको छ, जहाँ यस वर्ष ४५० मेगावाट जलविद्युत् उत्पादन थपिने र धान उत्पादन ४.३% ले बढ्ने अनुमान छ ।

मुद्रास्फीति सन् २०२५ मा ५% र सन् २०२६ मा ४.५% मा झर्ने प्रक्षेपण गरिएको छ । सन् २०२३ मा मुद्रास्फीति ७.७% रहेको थियो, भने सन् २०२४ मा ५.४% मा झरेको छ। विश्व बैंकका श्रीलङ्का, नेपाल, र माल्दिभ्सका देशीय निर्देशक डेबिड सिस्लेनले, पर्यटन, कृषि, र जलविद्युत् क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्रमा सुधार आउने भए पनि आप्रवासन र बाह्य क्षेत्र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

नेपालको आर्थिक वृद्धिदर पछिल्ला वर्षहरूमा क्रमिक रूपमा बढेको छ । तथापि, वित्तीय क्षेत्रमा खराब कर्जा बढ्नु र बैंकहरूको नाफा घट्नु समस्याका रूपमा देखिएको छ । साथै, बजेट कार्यान्वयन कमजोर रहेको, पुँजीगत खर्च बढ्न नसकेको, र सार्वजनिक ऋणको दायित्व बढ्दै गएको समस्याहरूलाई प्रतिवेदनमा औँल्याइएको छ । निजी क्षेत्रको खपत १.८% ले र सरकारी क्षेत्रको खपत ५.८% ले बढ्ने अनुमान गरिएको छ, तर व्यापार घाटा बढेकाले चालु खाता बचत घटेर जिडिपिको २.६% मात्र रहने अनुमान छ । सरकारी राजस्व भने यसवर्ष २०% ले वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *