केन्द्रीय कारागार अस्पतालको सेवा र जनशक्ति बढाउनुपर्नेमा जोड

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरूले जोड दिएका छन् ।

बुधवार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक कार्यक्रममा बोल्दै सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरूले यसको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीहरुले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गरे । उनले यहाँ पूर्वाधारहरूको अभाव रहेको अवस्थामा नख्खु कारागारमा बनेको पूर्वाधारमा अस्पताललाई स्थानान्तरण गरेर सञ्चालन गर्न सकिने बताए ।

उनले छिटोभन्दा छिटो नख्खु कारागारमा अस्पताल सार्न आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न विकास साझेदार संस्थाहरूलाई अस्पतालमा जोड्दै सेवा बिस्तार गर्नुपर्ने बताए ।

उनले भने – ‘गाँस, बास, कपास सबै सुनिश्चिततासहित कैदी, बन्दीलाई हामीले हेर्नुपर्ने अवस्था छ । सामूहिक बसाइँ, खानपान, आनीबानी, व्यवहारदेखि धेरै कुराहरूले स्वास्थ्यमा पार्ने समस्या त्यसमा पनि क्षमताभन्दा बढी कैदी, बन्दी राख्नुपर्ने कारणले पनि सिर्जना भएका विविध समस्याहरूमा स्वास्थ्य समस्या समाधान गर्ने प्रयत्न यहाँहरूले गरिरहनुभएको छ । आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नगराउने जुन प्रयत्न गरिरहनु भएको छ, यो प्रशंसनीय छ । नख्खु कारागारमा बनेको पूर्वाधारमा तत्कालै सेवा स्थानान्तरण गरेर त्यहाँबाट सञ्चालन गर्न सकिने स्थिति रहेछ । त्यसलाई छिटोभन्दा छिटो सञ्चालन गरेर यहाँको चाप पनि घटाउने र अहिले प्रदान गरिएको सेवामा केही स्तरोन्नति र बिस्तार गर्न सकिनेछ भने त्यो विषयमा पनि प्रयत्न गर्न आग्रह गर्न चाहन्छु । विभिन्न विकास साझेदारहरू स्वास्थ्य क्षेत्रसँग अत्यन्त धेरै आबद्ध भएको अवस्था छ । कम्तीमा एक दुई वटा विकास साझेदारलाई केन्द्रीय कारागार अस्पतालको सेवा सुधारमा सहभागी गराउन पाइयो भने यहाँको सेवा पनि बिस्तार हुने, त्यो सँगसँगै चिकित्सक र स्वास्थ्यकर्मीलाई मनोबल दिन उत्प्रेरणा दिन अरू कार्यक्रम पनि राख्न सकिने हुन्छ । त्यसको लागि आग्रह गर्न चाहन्छु ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले कारागारमा रहने कैदी, बन्दीहरूमा सबैभन्दा धेरै मानसिक समस्या देखापर्ने भन्दै अस्पतालको मानसिक स्वास्थ्य विभागलाई स्रोत, साधन सम्पन्न बनाउनुपर्ने बताए । उनले अस्पतालको जनशक्ति व्यवस्थापनको सम्बन्धमा पुनरावलोकन गरी जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरे ।

उनले भने – ‘कारागारमा भएका व्यक्तिहरूको धेरै समस्या मानसिक समस्या हो । ललितपुरमा मनोसामाजिक अस्पताल भनेको धेरै सुरु भएको अगाडीदेखि नै हो । तर राम्रो हुन सकेको छैन । यहाँ पनि मानसिक विभाग छ । यसलाई पनि सुधार ग¥यो भने हुन्छ । कैद भोगिरहनुभएका व्यक्तिहरूको मानसिक समस्या केही न केही रूपमा अन्यको तुलनामा बढी नै हुन्छ । त्यसमा हामीले सुरुमा नै पत्ता लगाउन सक्यौँ निरोगात्मक पद्धतिको विकास हुन्छ । विगतदेखि नै त्यो अस्पताल सञ्चालन गर्न धेरै प्रयास भएपनि केही न केही अपुग रूपमा सञ्चालन भएको छ । त्यसलाई स्रोत, साधन उपलब्ध गराएर, दरबन्दी बढाएर राम्रोसँग सञ्चालन गरौँ । जनशक्तिको व्यवस्थापनमा खासै समस्या छैन अन्य अस्पतालमा पनि । पुनरावलोकन गर्नुपर्ने अवस्था छ । जनशक्ति बढाउनुपर्ने छ ।’

उनले आवश्यक स्रोत, साधन परिपूर्ति गर्नका लागि मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गर्ने र काम अगाडी बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *