एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणी चौधरीले सांसदहरूको १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइने बताए ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट उक्त सहयोग गर्ने निर्णय गरिएको सचेतक चौधरीले बताए ।

‘यही मिति २०८१ असोज ११ र १२ गतेको भारी वर्षाका कारण आएको बाढी पहिरोले पुर्‍याएको धनजनको क्षतिप्रति गहिरो क्षति दु:ख व्यक्त गर्दै उक्त प्राकृतिक प्रकोपमा राहत सहयोग पुर्‍याउन हाम्रो पार्टी संसदीय दलको निर्णय अनुसार हाम्रो पार्टीका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुन आउने १५ दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने व्यवस्था गरिदिन हुन अनुरोध छ, ’ सचेतक चौधरीद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले पनि १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेका थिए । त्यस्तै माओवादीका संघीय तथा प्रदेश सांसदले पनि १० दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *