कुमाख गाउँपालिका युवा परिषद्को उपाध्यक्षमा युवराज खड्का मनोनीत

काठमाडौं । सल्यानको कुमाख गाउँपालिका युवा परिषद्को उपाध्यक्षमा युवराज खड्का मनोनीत भएका छन् । मंगलबार बसेको गाउँ कार्यपालिकाको ७औं बैठकले खड्कालाई स्थानीय युवा परिषद्को उपाध्यक्षमा मनोनीत गरेको हो ।

उनले कुमाख गाउँपालिकामा युवाहरूका हक, अधिकार, रक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेका छन् । उनी सानै उमेरदेखि युवा मामिलामा सक्रिय रहँदै आएका थिए । खड्का राष्ट्रिय युवा परिषद्को केन्द्रीय प्रशिक्षकका रुपमा काम गर्दै संघ, प्रदेश र स्थानीय तहमा युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उपाध्यक्ष मनोनयनको क्रममा उनले गाउँ कार्यपालिकासमक्ष ४ वर्षे कार्यकालमा दीर्घकालीन र रूपान्तरणकारी कार्ययोजना प्रस्तुत गरे ।

खड्काले प्रस्तुत गरेका कार्ययोजनामा कुमाख गाउँपालिकाका युवाहरूका लागि संविधान तथा कानूनले प्रदान गरेका अधिकारहरू कार्यान्वयन गर्न स्पष्ट रणनीति तयार गर्ने, र सोहीअनुसार कार्यगतिबिधि अगाडि बढाउने योजना छ । साथै, उनले युवाहरूको सशक्तीकरण, क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन, र खेलकुद क्षेत्रमा योगदान दिने योजना पनि प्रस्तुत गरेका छन् ।

खड्काले उपाध्यक्ष पदमा मनोनीत भएकोमा गाउँ कार्यपालिकालाई हार्दिक धन्यवाद प्रकट गर्दै आगामी कार्यकालमा कुमाखमा रूपान्तरणकारी परिणाम दिने प्रतिबद्धता व्यक्त गरे । कुमाख गाउँपालिका, कर्णाली प्रदेशमा स्थानीय युवा परिषद् ऐन पारित गरी परिषद् स्थापना गर्ने चौथो स्थानीय तह बनेको छ भने सल्यानका पालिकामध्ये पहिलो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *