बीपी राजमार्गबाट घर जाने दशैँका यात्रु रोकिन नपर्ने, डाइभर्सन गरी खुलाइयो सडक

काठमाडौं । बाढी पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग खुलाउन धमाधम काम भइरहेको छ । राजमार्गअन्तर्गत सबैभन्दा बढी क्षति पुगेको रोशी खोला सडक डाइभर्सन गरी सडक खुलाइएको हो ।

खोलाको पानी डाइभर्सन गरी सडक खुलाइएको सडक डिभिजन खाल्टेका सूचना अधिकारी प्रदीप तामाङले जानकारी दिए । बाढीले उक्त सडक खण्डको रोशी खोला किनारको करिब २ किलोमिटर बाढीले बगाएको थियो । उक्त सडक खुलिसकेको छ ।

सडक डिभिजन खाल्टेका सूचना अधिकारी तामाङका अनुसार घोप्चो भन्ने स्थानको पनि बाटो खुलिसकेको छ । ‘हामी रोशी खोलाको डाइभर्सन गरी सडक खुलाएपछि हामी अघि बढ्दै छौँ,’ उनले भने, ‘दशैँअघि नै बिपी राजमार्ग खुलाउने गरी तीव्र रूपमा काम भइरहेको छ ।’

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए । ‘हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ,’ उनले भने ।

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए । अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ । उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो ।

सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत सुरु गरेको हो । पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।

डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ ।

हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ । राजमार्गको कुल एक सय ६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *