मनसुनी वायु कायमै

पूर्वी र मध्य नेपालमा हुने वर्षा कति ठूलो हो ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा पूर्वी र मध्य नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । नेपालबाट मनसुन नबाहिरिँदा देशभरको मौसम बदली भइरहेको हो ।

मनसुनी वायुले पश्चिममा वर्षा नगराए पछि मध्य र पूर्वी नेपालमा भने हल्का वर्षा भइरहेको छ । आज र भोलि बागमती तथा कोशी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी सूचना अधिकारी विभूति पोखरेलले पछिल्लो वर्षा प्रणालीले अघिल्लो सप्ताहान्तको विध्वंसकारी वर्षाको जस्तो व्यापक असर नपार्ने बताइन् । तर, उनले पहिरोको जोखिम कायमै रहेकोले सावधानी अपनाउन आग्रह गरिन् ।

गत साताको भारी वर्षाका कारण देशभर ठूलो क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २ सय ३९ जनाको मृत्यु भइसकेको छ भने २२ जना अझै बेपत्ता छन् । पहिरो र बाढीका कारण अवरुद्ध भएका सडकहरू पुनः खोल्न समेत जटिलता आएको छ ।

प्राधिकरणका प्रवक्ता डीजन भट्टराईले यस पटकको वर्षाले कमजोर भइसकेको जमिनलाई पुनः चलायमान गराउने सम्भावना रहेकोले विशेष सतर्कता अपनाउनुपर्ने बताए । ‘गाडी चलाउन नपाउने भन्ने अवस्था छैन, तर जोखिमयुक्त सडकमा पानी पर्ने समयमा यात्रा नगर्नु नै उपयुक्त हुन्छ,’ भट्टराईले भने ।

मौसमविद्हरूले अबको वर्षा प्रणालीले भारी वर्षा नगर्ने भए पनि पहिरोको जोखिम उच्च रहेको बताएका छन् । यस वर्षलाई तोकेको मनसुन बाहिरिने दिन २ अक्टोबर अर्थात १६ असोज नाघिसकेको छ । त्यसबीचमा सरदरभन्दा बढ्ता झन्डै २० प्रतिशत पानी परिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *