उपभोक्ताको गुनासो- हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ, महँगो भो दसैँ (भिडिओ)

काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैं नलागेको बताइरहेका छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको चहलपलह देखिन थालेको छ । तर उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए ।

असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरूले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् । काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए ।

उनले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरूमा मूल्य सूचीहरु समेत नभएको बताए । उनले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए । पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गरे ।

उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए । उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको जानकारी दिए । मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताए । सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको जानकारी दिए ।

अर्को काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन् । उनले दशैँ नेपालीहरूको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताइन् । त्यस्तै काठमाडौंको बसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेडाँइले पनि सामान्य समयको भन्दा दशैंमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन् ।

उनले काठमाडौंका अन्य बजार भन्दा असनमा सस्तो रहेको बताइन् । मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्ने अवस्था नभएको बताइन् । त्यस्तै, सुमित्रा सेडाँइले दशैँ लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताइन् ।

भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिएकी छन् । उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताइन् । उनले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको जानकारी दिइन् ।

अधिकांश उपभोक्ताहरूले बजार महँगो भएकाले यो वर्षको दशैं महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरूले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *