संसदीय समितिको निर्देशन- क्षतिग्रस्त राजमार्गहरूको यथाशीघ्र मर्मत गरी यातायात सुचारु गर्नु

काठमाडौँ । संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशीघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरूको यथाशीघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो ।

मर्मतसम्भार गरी यातायात सुचारु गर्न समितिको निर्देशन छ । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानुनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरूमा फास्ट ट्र्याकमार्फत सडक पुनः निर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । त्यस्तै बिपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ ।

समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडी नै प्रदान गर्न सरकारलाई भनेको छ । त्यस्तै बाढी पहिरोका कारण वासस्थान गुमाएका व्यक्तिहरूलाई ७ दिनभित्र अस्थायी बसोबासको व्यवस्था गर्न र घाइतेको निःशुल्क उपचार गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

बैठकले गरेको निर्णय बारे जानकारी दिँदै समिति सचिव उदयकुमार भण्डारीले भने – ‘बाढी, पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग लगायत सबै राजमार्गहरूको सडकको यथाशीघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने,

मौज्दात सार्वजनिक खरिद कानुनको व्यवस्थाले खर्च गर्न नसक्ने भएकोले विशिष्टकृत स्थितिलाई मध्यनजर गरी विपद् क्षेत्रहरूमा फास्ट ट्र्याकमार्फत सडक पुनः निर्माण, बेलिब्रिज जडान लगायतका कामहरूलाई तीव्रता दिन नेपाल सरकारलाई निर्देशन दिने,

बाढी, पहिरोबाट भएको क्षतिपछि सरकारले गर्नुपर्ने उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत, पुनर्स्थापना र भौतिक पूर्वाधारहरूको पुनःर्निमाणको कार्य तीव्र रुपमा अगाडी बढाउन र प्राकृतिक विपत्तिबाट धेरै क्षति हुन नदिन पूर्व तयारीका काम गर्न, बिपी राजमार्गमा फसेका यातायात मजदुरहरू एवम् सर्वसाधारणहरूको तत्काल उद्धार गर्न, मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडी नै प्रदान गर्न, बाढी पहिरोका कारण वासस्थान गुमाएका व्यक्तिहरूलाई अस्थायी बसोबासको व्यवस्था ७ दिनभित्र मिलाउन र घाइतेको निःशुल्क र शीघ्र उपचार गर्न सरकारलाई निर्देशन दिने ,

दसैँमा घर जाने यात्रुहरूलाई सरकारले सहज रुपमा घर जाने वातावरण बनाउनका लागि राजमार्ग र सडकहरू मर्मत, सम्भार गर्ने र यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ र सुरक्षित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।’

त्यसैगरी दशैँमा घर जाने यात्रुहरूलाई सरकारले सहज रुपमा घर जाने वातावरण बनाउनका लागि राजमार्ग र सडकहरू मर्मतसम्भार गर्ने र यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ र सुरक्षित बनाउन निर्देशन दिइएको समिति सचिव भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *