अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने

काठमाडौँ । ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ ।

लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो । ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताए ।

कम्पनीले दुई वर्षको मेहनतबाट निर्माण गरेको र शुक्रवारदेखि एपको सफ्ट लन्च गरेको उनले जानकारी दिए । एपबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उनको भनाइ छ ।

ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको बताए । एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आबद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । एपले मालवाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्ने उनले बताए ।

त्यस्तै कम्पनीकी कर्मचारी रोशनी श्रेष्ठले कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एपको कनेक्सन जडान गरेको जानकारी दिइन् । एपले सवारी साधनको तत्कालको लोकेसन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिने बताइन् । जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्ने उनको भनाइ छ ।

सवारी साधनले कुनै चेक पोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेसन दिनेछ । ट्रिप डिटेल र सवारी साधनको तत्कालको अवस्थाको बारेमा जानकारी दिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *