पूर्वी पहाडको ‘लाइफ लाइन’ मेची राजमार्गमा पुनः पहिरो

इलाम । पहिरोले क्षत–विक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मत सम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मत सम्भारको काम शनिबार साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ । निरन्तरको वर्षाका पूर्वी पहाडी जिल्लाको ‘लाइफ लाइन’ का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध बनेको हो । इलाम नगरपालिका–९ मा पर्ने माइखोलाको राजदुवाली–गोलाखर्क खण्ड शुक्रबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मेची राजमार्ग अवरुद्ध भएपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउजाउ गर्ने सवारीका साधन ठप्प छन् । अहिले यो खण्डबाट मोटरसाइकल समेत वारपार गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ । असोज ११ देखि परेको पानीले यो खण्ड निकै कमजोर बनाएको थियो ।

असोज १७ मा आएको पानीले थप क्षति गरेपछि सवारीका साना साधन मात्र चल्दै थिए । तर, शुक्रबार दिउँसोदेखि भने सबै खाले सवारीका साधन गुडाउन नमिल्ने अवस्था आएको इलामकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) कल्पना श्रेष्ठले जानकारी दिइन् । शुक्रबार यो खण्डमा मर्मत गर्न थालिएको थियो । तर, माथिबाट पहिरो झरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको सडक डिभिजन कार्यालयकी इन्जिनियर मनिषा कट्टेलले बताइन् ।

बीचैमा सडक अवरुद्ध भएपछि यहाँ आइपुगेका सयौं यात्रु र सवारी साधन अलपत्र परेका छन् । झापातिरबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथिपट्टिको सडकमा लाम लागेका छन् । अहिले झापातिरबाट आएका सवारीले माइखोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिलोभन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदै छन् । तर, यात्रु करिब पाँच सय मिटर हिँड्नु पर्ने भएकाले सास्ती भएको छ ।

करोडौँ रुपैयाँ खर्च बर्सेनि मर्मत गरिरहे पनि यहाँको करिब एक किलोमिटर खण्ड निकै जोखिमपूर्ण बनिरहेको छ । यसको विकल्प खोज्न सबैले दबाब दिएपछि बल्ल जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले वैकल्पिक रूपमा गोदकको सिमलगोलाईबाट जोगमाई खोला हुँदै तिल्केनी जोड्ने सडक सुधारेर काम गर्न सडक कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *