महालक्ष्मी खोलामा डाइभर्सन निर्माण

अवरुद्ध हेटौंडा-काठमाडौं सडक पुनः सञ्चालनमा

काठमाडौं । बाढी-पहिरोका कारण अवरुद्ध बनेको हेटौंडा-कुलेखानी-फाखेल-हुमाने हुँदै काठमाडौं जोड्ने सडक सञ्चालनमा ल्याउने तयारी भएको छ । गत असोज ११ र १२ मा परेको अविरल वर्षाले उत्पन्न बाढी-पहिरोले अवरुद्ध सडक आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी भएको हो ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले कुलेखानी ड्याममुनि नयाँ डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले बगाएको सडक मर्मत गरेपछि सडक खुल्ने जानकारी दिए । उनका अनुसार फाखेल सडकखण्डमा रहेका अवरोधहरू पन्छाउने काम अन्तिम चरणमा पुगेको छ र दिउँसो १ बजेदेखि सवारी साधन सञ्चालनमा आउने योजना छ ।

पोखरेलले सवारी सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरिसकेको र कुनै ठूलो समस्या नआएमा यातायात निर्वाध रूपमा सञ्चालन गर्न सकिने बताए । कुलेखानी ड्याममुनिको पुलको पहुँच मार्ग बिग्रिएको स्थानमा डाइभर्सन बनाइसकिएको छ र शनिबार रातिसम्ममा डाइभर्सनको काम पूर्ण रूपमा सम्पन्न हुनेछ ।

महालक्ष्मी खोलाले बगाएको सडकमा मर्मत कार्य सकेर डाइभर्सन बनाएपछि अब सवारी आवागमनको लागि बाटो खुल्ला भएको छ । यसैबीच, फाखेल सडकखण्डमा केही मोटरसाइकलहरू सञ्चालनमा आइसकेका छन् भने फसेका सवारी साधनहरू पनि गन्तव्यतर्फ अघि बढिसकेका छन् । कुलेखानी सिस्नेरीतर्फको सडक खण्ड भने सोमबारसम्म मात्र सञ्चालनमा आउने बताइएको छ ।

सडक सञ्चालनको तयारी र कामको निरीक्षणका लागि बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, र मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको टोली शनिबार फाखेल महालक्ष्मी पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *