वायु सेवा कम्पनीले तोकिएको दरभन्दा बाहिर जाँदैनौं भनेका छन् : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् ।

मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए । यात्रुहरू शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको उनको भनाई छ ।

  • मन्त्री पाण्डेले भने,

‘११ र १२ गते जुन भीषण वर्षा भयो, त्यसपछि एक प्रकारको ठूला विपत्ति व्यहोर्नुप-यो । त्यसकारण सडक सञ्जालहरु अवरुद्ध भए । केही सडक खण्डहरु अझै पनि खुल्न सकेको अवस्था छैन । त्यो अवस्थामा हवाई क्षेत्रमा स्वभाविक रुपमा चाप बढ्यो । चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने गर्दछ । जसले गर्दा प्लेनको टिकटहरु प्राप्त गर्न पनि कठिन हुने र टिकटको मूल्य पनि बढ्ने । किनभने एकतर्फी राम्रोसँग चल्ने र अर्कोतर्फी फुल प्यासेन्जर हुँदैनन्, खालि आइरहेका छौँ भनेर एयरलाइन्सहरुले आफ्नो गुनासो सुनाउने अवस्था छ । यस पटक विपत्ति र चाडवाड दुवै सँगै आएको हुनाले समस्या भएको हामीले महशुस गरेका छौँ । हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौँ । अनुगमन भइरहेको छ । तर यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको, विपत्ति आइसकेपछि टिकट खोज्दा दशैँ र विपत्ति दुवैले गर्दा टिकटको चाप देखियो । बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुनजुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिनेगरी हामीले निर्णय गरेका छाँै । जसले गर्दा इतिहासमै यति धेरै फ्लाइट र यात्रुहरुको आवतजावत भएको थिएन, त्यो स्थिति निर्माण ग-यौँ । रात्रिकालीन उडानपछि गन्तव्यसम्म पुग्नको लागि हामीले विमानस्थल स्थित यातायात व्यवसायीहरुसँग छुट्टै छलफल ग-यौँ । उहाँहरुलाई काम पनि बढी पाउनुभएको छ रात्रिकालीन सेवा भएपछि, त्यसकारण थप बढी मूल्य नलिन आग्रह गरेका छौँ । तोकिएको रेट भन्दा बाहिर जाँदैनौं भनेका छन् । तोकिएको रेट तिरेर र बिल काटेर जानेकुरा पारदर्शी हुन्छ भन्नेमा सहमत हुनुभयो । सामाजिक उत्तरदायित्वलाई नबिर्सिने वचनबद्धता दिनुभयो । यात्रा र यात्रुलाई सहजता दिनका लागि थप प्रभावकारी काम गरिरहेका छौँ । फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको छ । फ्लाइट बढाइदिन आग्रह गर्नुभएको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी फ्लाइट गरिदिन आग्रह गरेका छौँ । बिस्तारै सहज हुँदै गएको छ र थप सहज हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *