खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री सुरु

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री सुरु गरेको छ ।

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको विक्री सुरु गरेको हो । गत वर्ष घटस्थापनादेखि नै विक्री सुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै विक्री सुरु गरेको हो ।

खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । उनले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको बताइन् ।

उनले अघिल्लो वर्ष ५४२ वटा च्याङ्ग्रा, १ हजार ६०२ खसीबोका विक्री गरेको जानकारी दिइन् । उनले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताइन् । उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको बताइन् ।

उनले भनिन् ‘२०८१ सालको दशैँलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष हामीले आजदेखि यो खसी, बोका र च्याङ्ग्रा विक्री सुरु गरेका छौँ । खसी, बोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रम हो । जसमध्ये अहिले हामीले ६८६ खसी, बोका र च्याङ्ग्रा गरेर प्राप्त गरिसकेका छौँ । च्याङ्ग्रा हामीले मुस्ताङबाट ल्याएका छौँ । खसी,बोका, नवलपुर, हेटौँडा र दाङबाट ल्याएका छौँ । बाटोको अवस्था त्यति सहज छैन, कार्यक्रम मात्रै जाँदा समस्या सिर्जना हुन्छ । त्यसैले बाटोको असहज परिस्थितिका कारणले केही कम मगाएका छौँ । अघिल्लो वर्ष हामीले ५४२ वटा च्याङ्ग्रा, १६०२ खसी, बोका विक्री गरेका थियौँ । गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तो छ । च्याङ्ग्रामा ३० रुपैयाँ सस्तो दिएका छौँ । मूल्यमा माग र आपूर्तिले पनि फरक पार्छ । हामी नाफा कमाउने उद्देश्यले स्थापित भएको कम्पनी होइन । यस वर्ष खसी बोकाको ६७० मूल्य निर्धारण गरेका छौँ, त्यसमा १० रुपैयाँ प्रतिकेजी छुट दिएर ६६० मा उपलब्ध गराएका छौँ । च्याङ्ग्राका १२३० रुपैयाँ कायम ग¥यौँ । त्यसमा १० रुपैयाँ छुट दिएर उपभोक्तालाई प्रतिकेजी १२२० मा उपलब्ध गराइरहेका छौँ । स्वस्थ छ भने हामी सिङमा हरियो रङ लगाएका छौँ, त्यसपछि मात्रै विक्री वितरण गर्दछौँ । यहाँबाट हामीले एक जनालाई एउटा भन्दा बढी उपलब्ध गराइरहेका छैनौँ ।

उनले कम्पनीले स्वस्थ खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसिबोकालाई हरियो रङ लगाएको बताइन् । एक जनालाई एउटा भन्दा बढी उपलब्ध नगराइएको बताए । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर विक्री गर्ने गर्छ । खाद्यसँगै अरू निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाण्डौमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *