भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीले दिए दशैँको शुभकामना

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति मुर्मुले एक्समा लेखेका छन्–‘विजयादशमीको पावन अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यो अन्यायमाथि न्यायको विजयको चाड हो । यो पर्व सत्य र नैतिकताको मूल्यमान्यताप्रतिको हाम्रो विश्वासको प्रतीक हो ।’

मुर्मुले एक्समा अगाडि लेखेकी छन्– ‘यस शुभ अवसरमा हामीले सबैभन्दा कठिन परिस्थितिमा पनि न्यायको पक्ष लिने प्रण गर्नुपर्छ । यो पवित्र पर्वले सबैको जीवनमा सुख र समृद्धि ल्याओस् र हाम्रो देश सदैव विकासको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु ।’

त्यसैगरी प्रधानमन्त्री मोदीले एक्समा बिजयादशमीको पावन अवसरमा सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्–‘विजयादशमीका अवसरमा माता दुर्गा र भगवान श्री रामको आशीर्वादका साथ तपाईंहरू सबैले जीवनको हरेक क्षेत्रमा विजय प्राप्त गर्नुहोस् भन्ने मेरो हार्दिक शुभकामना छ ।’

राष्ट्रपति द्रौपदी मुर्मू र प्रधान मन्त्री नरेन्द्र मोदी दिल्लीको रामलीला मैदान धीरज धर गुप्तामा श्री धार्मिक लीला समितिद्वारा आयोजित दशहरा कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ । श्री धार्मिक लीला समितिका महासचिवले एएनआईलाई बताएअनुसार कार्यक्रम शनिबार साँझ ५ः३० बजे सुरु हुनेछ ।

भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दू चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ ।

विजयादशमीको पर्व लगभग देशका हरेक भागमा मनाइन्छ, र यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन् । भगवान रामद्वारा रावणमाथि विजय गरेको दिन विजया दशमी मनाइएको भन्ने भनाइ भारतका अधिकांश हिन्दूहरूमा लोकप्रिय छ । हिन्दूहरूले भगवान् रामलाई आदर्श पुरूषका रूपमा लिने गर्छन् ।

विजयादशमीको २० दिनपछि मनाइने महत्वपूर्ण चाड दीपावलीको तयारी पनि यस पर्वले सुरु गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *