चाडपर्वले पारस्पारिक सम्मान र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउन विजयादशमीले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मुलुकको गौरव बढाउने मौलिक संस्कृति सम्वर्द्धन गर्दै उनले जनतालाई सुख, समृद्धि र सामाजिक सद्भाव बढाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नुपर्ने बताए ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै अध्यक्ष नेपालले सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न सांस्कृतिक एकताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषणका साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय तथा समानता कायम गरी राष्ट्रिय निर्माणमा लाग्न सबै नेपालीलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *