भूइँबाट उठेका गायक दुर्गेश थापा

गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो…’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाले भनेका थिए,“अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन,सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछु ।”

उनले उक्त अभिव्यक्तिलाई तीजका अवसरमा अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा पनि दोहोराएका थिए । भिन्न गायन शैलीका कारण आफू चर्चित हुँदाहुँदै पनि कतिपय गीत विवादमा परिरहेको पृष्ठभूमिमा उनले गरेको आत्मसमीक्षाले उनको कलाकारितालाई के नयाँ मोड दिनसक्छ ? “उमेर, अनुभव, सङ्गत आदिले आफू नयाँ चरणमा आइपुगेको अनुभूति भएको छ”, ३७ वर्षीय थापाले भने, “सुरुआत र सङ्घर्षकालमा भन्दा अझ परिमार्जित र परिपक्क ढङ्गले दर्शक/स्रोतमाझ आउन खोजिरहेको छु ।”

अठार वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरु गुजारेका उनले सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन् । युवा र किशोर पुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन् । २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उनीसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा उनी अभिनय हुँदै गायनतिर डोरिए ।

गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटकट राजधानी छिरेका उनको अपरिचित सहरमा सङ्घर्ष सुरु भयो । “अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ गएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो”, थापाले भने,“एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रुपमा म उहाँलाई आदर गर्छु ।” बुबा भारतीय सेनाबाट निवृत्त भएकाले परिवारको पनि चाहना भर्ती होस् अथवा कतै जागिर गरोस् भन्ने थियो । थापाले त्यसका लागि प्रयास नगरेका पनि होइनन् ।

विद्यालय तहको पढाइ सकेर उनी भारतीय सेनामा भर्ती हुने सोचले बनारस पुगे । त्योबेला माइलाबुबा पनि भारतीय सेनामा कार्यरत रहेकाले भर्ती हुन सजिलो हुने ठानेर उनी केही वर्ष बनारसमै बसे । केही समयपछि लाहूरेको सपना त्यागेर उनी घर फर्किए । घरमा आएपछि अरु कुरा नसोची उनी काठमाडौँ हानिए । गलकोट, मल्ममै जन्मनुभएका गायक विष्णु खत्री, बसन्त थापालगायतबाट सानैदेखि प्रभावित उनले काठमाडौँमा भूइँदेखि सङ्घर्ष सुरु गर्नुपर्‍यो । कहिले चलचित्रमा कोरस नाच्नुभयो त कहिले डान्सबारमा । नृत्य र अभिनय प्रशिक्षणका अलवा उनी विस्तारै अनुभवले पनि खारिँदै जान थाले ।

वि.सं. २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गरेका थिए । “गाउँको असली दुर्गे त्यो भिडियोमा देख्न सकिन्छ, उहिलेको त्यो दुर्गे अहिले दुर्गेश भइसक्यो”, ठट्यौली शैलीमा उनले भने । गाउँमा छँदा बालापनका साथीले दुर्गे भनेर बोलाउने गरेको उनले सम्झिए । नृत्य र अभिनयबाट अघि बढ्नुभएका थापाले पछि गायनमा पनि हात हाले । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाए ।

त्यसअघि उनले ‘आफू हाँसे संसार हसाउँछ…’, ‘नघाम लाउनी, न पानी पर्नी…’लगायत गीतमा शब्द र सङ्गीत भरिसकेका थिए । त्योबेला आफूले सिर्जना गरेका केही गीत गाउन चाहँदा पनि स्वर चल्दैन भनेर गाउन नपाएको गुनासो गरे । अभिनय र गायनलाई सँगसँगै डोर्‍याउएका थापाले हालसम्म ४५ गीतमा स्वर दिनुभएको छ भने १५ सयबढी म्यूजिक भिडियोमा अभिनय गरे । उनी म्युजिक भिडियोमा अहिले पनि चल्तीको मोडल रहेका छन् । रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘माया लाएर के भो…’ गीतको म्यूजिक भिडियोबाट थापा मोडलका रुपमा बढी चिनिन थालेका हुन् ।

थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौ..’लगायत उनीद्धारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पछिल्लो समय थापाले नायिका प्रियङ्का कार्की र गरिमा शर्मासँग मिलेर तीज गीत ‘झुम्का हरायो…’मा नृत्य तथा अभिनय गरेका थिए ।

“सङ्गीत क्षेत्रमा यति छिट्टै स्थापित हुन्छु जस्तो लागेको थिएन, तर सङ्घर्ष गर्दै जाँदा सम्भव हुँदो रहेछ”, गायक थापाले भने, “यसको श्रेय म मेरो अभिभावक र दर्शक/श्रोतालाई दिन चाहान्छु ।” काठमाडौँ जस्तो सपनाको सहरमा उनलाई अनेक अवरोध पनि नआएका होइनन् । तर उनले बाधाहरु सजिलै छेके,रोके र पहिलाए आफ्नो सत्मार्ग । सुरुआतिकालमा रेष्टुराँ र बारमा नृत्यकारको रुपमा काम गरेका उनी अहिले अभिनय र सङ्गीतमा सिद्धहस्त बनेका छन् ।

काठमाडौँको ठमेल र दरबारमार्गका डान्सबारमा नाचेका ती दिनको सम्झनाले अझ यो क्षेत्रमा राम्रो गर्न प्रेरित गर्ने उनले बताए । डान्सबारमा काम गर्दागर्दै अभिनयमा छिर्ने र चलचित्रमा काम गर्ने सोख पलाएपछि आफूले नियमित नृत्य र अभिनय प्रशिक्षण लिन थालेको थापाले सुनाए ।

“मेरो अभिनयको यात्रामा ‘जुनले मात्र देख्छ…’ बोलको गीतले राम्रो मोड दिएको हो, उक्त गीतबाट धेरै दर्शकको माया र सद्भाव पाउन सकेँ’, उनले भने,“त्यसपछि ममा झन् अभिनयमै प्रतिबद्ध भएर लाग्ने सोंच आयो, मलाई आफूभित्रको म भेटाए झैँ लाग्यो ।”गायनमा पनि उहाँको भिन्न पहिचान छ । पाँच वर्षअघि थापाले गाएको तीज गीत ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’ त्योबेला चर्चित बनेको थियो । जुन गीतको म्यूजिक भिडियोलाई हालसम्म झण्डै दुई करोड पटक हेरिएको/सुनिएको छ ।

उक्त गीतलाई सातौँ संस्करणसम्म निरन्तरता दिनुभएका थापाले यसै वर्षदेखि उक्त गीतको सिलसिलालाई अन्त्य गर्ने घोषणा गर्नुभएको थियो । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ । पहिलोपटक दीपक/दीपाको चलचित्र ‘छ माया छपक्कै..’मा प्रोमोशनल गीत गाएका थापाले आगामी कात्तिकमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो…’ गीत अहिले युट्युबमा चर्चित छ । सदीक्षा कट्टेलसँगको युगल गायन रहेको उक्त गीतमा शब्द र सङ्गीत पनि थापाकै रहेको छ ।

प्रदर्शनका क्रममा रहेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएकी छन् । गायकभन्दा बढी स्टेज परर्फमरका रुपमा आफूलाई चिनाउन चाहाने थापाले गीत गाएकै आधारमा प्रतिबन्धसमेत झेल्नुपर्‍यो । केही वर्षअघिको तीज गीतमा प्रयोग भएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले उनलाई कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

तिहारका बेला थापाले सार्वजनिक गरेको ‘हेप्पी तिहार…’ बोलको गीत पनि आलोचित भएपछि विवादित अंश सम्पादन गरेर पुनः युट्युबमा अपलोड गर्नुपरेको थियो ।

“निश्चित उमेर समूहलाई लक्षित गरेर गाउँदा कतिपय गीत समाजलाई पाच्य नहुँदो रहेछ, स्रोता÷दर्शकको आलोचना र सुझावले मलाई नयाँ ढङ्गले अघि बढ्न प्रेरणा दिएको छ”, उनले भने । चलचित्र ‘द ब्रोकन हर्ट’मा अभिनय गरेका थापाले चलचित्र अभिनयको क्षेत्रलाई भने सोचेजसरी अगाडि बढाउन सकेका छैनन् ।

अभिनय सँगसँगै गायनमा लागेपछि उहाँले साङ्गीतिक यात्राका क्रममा देशदेशावर घुम्ने अवसर पाएका छन् । अष्ट्रेलियादेखि जापान र हङ्कङदेखि इराकसम्मका सहरमा थापाले आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन् ।

देशभित्रका मेला/महोत्सवमा पनि उनलाई भ्याइनभ्याइ हुने गरेको छ । उहाँलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ ।‘विन्ध्यवासिनी म्यूजिक अवार्ड’, ‘ज्योति अवार्ड’लगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट थापा सम्मानित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *