पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको बढ्यो आकर्षण

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादशैं पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । बडादशैं मनाएर सकिएपछि बिदाको दिनमा घुम्ने प्रचलन बढेसँगै आइतबारदेखि नै पर्यटकको चहलपहल उल्लेख्यमात्रामा बढेको हो ।

विभिन्न सङ्घसंस्थामा अवलोकन भ्रमणको गन्तव्य पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

दशैं तिहारजस्ता चाडबाडका कारण पर्यटक बढी भित्रिएका हुन् । सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन् । हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।

विगतका वर्षमा आन्तरिक पर्यटकमात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्या बाक्लिन थालेको होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए । पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन् । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधा सम्पन्न होटल थपिन थालेका छन् ।

मुस्ताङ तथा उपल्लो मुस्ताङ र कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए ।

मुस्ताङ जाने पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालकसमेत रहेका उनले जानकारी दिए ।

उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलबस्तुलगायत क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घसंस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो छ ।

कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ जाने गरेको होटल व्यवसायीको भनाइ छ ।दशैं लगत्तै सदरमुकामका होटल भरिभराउ रहेको जनाइएको छ ।

बञ्जीजम्प र जीपलाइनमा एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकहरुले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिबेला लामो सरकारी बिदा भएकाले नियमित जसो भीडभाड हुन थालेको होटल व्यवयायी सुनीलसिंह बानियाँले जानकारी दिए ।

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्यमात्रामा आउन थालेको होटल व्यवयायी राजु कार्कीले बताए । दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ, साइक्लिङ गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *