सभापति लामिछाने पक्राउमा रास्वपाको घोर भर्त्सना,भन्यो- डराएका छैनौँ,तर्सिएका हैनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई गरिएको पक्राउप्रति घोर भर्त्सना गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा शुक्रवार साँझ उनलाई पार्टी कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो ।

सभापति लामिछाने पक्राउ परे लगत्तै पार्टीले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई पक्राउ गर्ने कदम राजनीतिक पूर्वाग्रह प्रेरित रहेको बताएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति हामी घोर भर्त्सना गर्दछौँ । संसदीय छानविन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्धामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ।’

गिरीबन्धु,भुटानी शरणार्थी काण्ड,टेरामक्स र वाईडबडी जस्तो अरबौंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरुले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेको उल्लेख गर्दै कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ,‘हामी डराएका छैनौँ,तर्सिएका हैनौँ । अब परिवर्तनको लडाईं थप बुलन्द भएको छ ।’

रास्वपाले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानविनलाई सघाउन सधैं तयार रहेको जारी विज्ञप्तिमा उल्लेख छ । कानूनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध स्वीकार्य नभएको समेत रास्वपाले बताएको छ ।

‘विना कारण सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ,’विज्ञप्तिमा भनिएको छ । रास्वपाले दशकौँ देखी हुँदै आएको राजनीतिक जालझेल विरुद्ध उभिन आह्वान समेत गरेको छ ।

सम्बन्धीत समाचार रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ

रवि लामिछानेको आग्रह– राज्यले ममाथि पूर्वाग्रह राख्यो, डटेर सामना गरिदिनुस्

रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन

सीआईबीको टोली रास्वपा कार्यालयमा, रविलाई पक्राउ गरिँदै

सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो : रवि लामिछाने

हेर्नुहोस् रास्वपाद्धारा जारी विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *