एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ : नेता मिश्र

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा (एमाले) सँग एकीकरण गर्नुपर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन् ।

शनिवार कुराकानी गर्दै उनले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिए । उनले तत्कालीन पार्टी (एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनैपनि त्रुटि, कमी, कमजोरी र असन्तुष्टिहरू नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको भएपनि त्यस्तो हुन नसकेको बताए ।

उनले पार्टीको दशौँ महाधिवेशनको म्याण्डेड विपरीत मनोनीत केन्द्रीय सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरूको असन्तुष्टि रहेको बताए । उनले पार्टी विधान र महाधिवेशनको म्याण्डेड विपरीत पदाधिकारी र पोलिटब्युरो चयन हुनु त्रुटिपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने बताए ।

पार्टीभित्र दुई पक्ष हाबी भएको भन्दै उनले पार्टी संकटमा रहेको उल्लेख गरे । नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको बताए ।

उनले भने – ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ । त्यो गर्न सकिएन भनेपनि जे–जे त्रुटि, कमजोरी भएर पार्टीले राम्रो गर्न सकेन, असन्तुष्टिहरू भए या राजनीतिक रूपले संकट आए, यस्तो काम कमसेकम यो विद्रोह गरेर आएको पार्टीले नगरोस् । यसले आफ्नो नयाँ खालको शैलीबाट, जनपक्षिय शैलीबाट अगाडी बढोस् भन्ने चाहाना थियो । तेस्रो, विद्रोहको औचित्य सिद्ध गरोस् । त्यो हामीले गर्न सकेनौँ । दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने थियो दुर्भाग्यवश के भइदियो भने महाधिवेशनबाटै सबै संरचना तयार गर्नुपर्थ्यो, त्यही नै म्याण्डेड थियो । भोलि निर्वाचन आयोगले पनि प्रश्न उठाउँदै छ कि जे गर्ने हो त्यो त महाधिवेशनको हलले गर्ने हो । हलबाट मनोनीत गर्ने सर्वसम्मतिले ३ जना, त्यसपछि ९३ जनालाई मनोनीत गरियो र ती मनोनीत गरिएकाले सबै पदाधिकारी उसले छान्ने यो चाहिँ विधानमा पनि नभएको कुरा पर्याे । यो व्यवहारिक पनि थिएन । ठूलो त्रुटि भएको हो । पछि ३४४ जना भइसकेपछि नयाँ संकट के सुरु भयो, पदाधिकारी चयन र पोलिटब्युरो चयन भोटबाट अहिलेसम्म कम्युनिस्ट पार्टीको इतिहासमा भएको छैन । केन्द्रीय कमिटी चयन हुन्छ । त्यसले अध्यक्ष/महासचिव छान्थ्यो । तर पोलिटब्युरो एउटा मापदण्ड बनाएर मूल्याङ्कनको आधारमा हुन्थ्यो । पोलिटब्युरोको निर्वाचन पनि मनोनीत ३४४ जनाले । निर्वाचित होइन । मनोनीतले त माथिबाट जसले कृपा गरेर मनोनीत भएको छ, त्यो कृपालुले के भन्छ ? त्यसलाई फाइदा उठाएर ५/७ वटा स्लिप बाँड्ने काम भए । त्यसले के दुर्घटना गर्याे भने पुराना मान्छेहरू पोलिटब्युरोबाट पनि हटे । पुराना, इमानदार र कर्मठ मान्छेहरू पोलिटब्युरोमा पनि आएनन् । पदाधिकारीमा पनि त्यस्तै दुर्घटना भयो । एकचोटी मात्रै केन्द्रीय कमिटीमा आएको मान्छे एकैचोटी उपमहासचिव भए । दुई चोटी भएका कोही उपाध्यक्ष भए । पुराना मान्छे हेरेको हेरेकै भए । यसले व्यापक असन्तुष्टि ल्याएको छ । यो असन्तुष्टि दुई तहमा छ । एउटा असन्तुष्टि के मा छ भने अब यो पार्टी न एकीकरण हुन्छ न अगाडी बढ्छ यसको औचित्य छैन भन्नेतिर लागेर यो फुटाउनुपर्छ, अन्त जानुपर्छ अथवा निष्क्रिय हुनुपर्छ अब यो काम छैन भन्नेमा पुगेको छ । एउटा समूह यसैलाई करेक्सन गर्नुपर्छ, फेरी महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि रु नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ । अर्को तेस्रो पक्ष जो संस्थापन धार छ, उसले के भन्दैछ भने जे भयो भयो यसलाई सकेसम्म सहिष्णुता, सुधार गर्दै नयाँ जिम्मेवारी बाँड्दै जानुपर्छ भनेर छिटै केन्द्रीय कमिटीको बैठक बोलाउने कुरा भइराखेको अवस्था छ । नेकपा (एकीकृत समाजवादी) पार्टी संकटमा छ ।’

उनले हैसियत विहीन मानिसहरु पदाधिकारी र केन्द्रीय कमिटीमा आउँदा आवश्यक मानिसहरु भने छुटेका बताए । पार्टीलाई सुधार गर्नका लागि छलफलहरू पनि भइरहेको उल्लेख गर्दै उनले निराश नेताहरूले अलग पार्टी बनाउन सक्ने स्पष्ट पारे । उनले आफूहरूले सिङ्गो पार्टीको नै एकता गर्न चाहेको भएपनि पार्टीको शीर्ष नेताहरूका बिचमा कुरा नमिलेको बताए ।

उनले भने – ‘कुनै वैचारिक मतभेद नहुँदा नहुँदै व्यक्तिको कारणले, व्यक्तिगत इगो, व्यक्तिगत विचार, व्यक्तिगत कुरा, मैले भनेपछि सिद्धान्त भन्ने हिसाबले कम्युनिस्ट पार्टीहरू सबभन्दा बढी फुटेका छन् । सुधारको लागि पनि कुरा भइरहेको छ । निराश साथीहरूले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौँ । सकेसम्म सिङ्गो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरू बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’

उनले सिङ्गो पार्टीलाई एमालेसँग एकता गराउन नसकिए शीर्ष नेताहरू बाहेकको समूह एमालेमा प्रवेश गर्ने बताए ।

पार्टी एकीकरणको लागि राजनैतिक दल सम्बन्धीको अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताए । एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुवीकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ । राजनैतिक दल सम्बन्धीको अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *