माओवादी पार्टीहरूलाई एकताबद्ध गरिन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीबाट अलग भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने संकल्प लिएको बताएका छन् ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा उनले माओवादी धारका सबै राजनीतिक पार्टीहरूलाई एकताबद्ध गराएर २०८४ सालको निर्वाचनमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउने दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले २०८४ सालमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि बताए । उनले समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको जिकिर पनि गरे ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए । आफूहरू शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यो बिन्दु आएको बताए ।

अध्यक्ष दाहालले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने बताए ।

उनले भने ‘अघि तपाईँहरूले सुन्नुभयो–सबै कमरेडहरूले र अन्तिममा कमरेड विप्लवले पार्टी एकताको कुरा गर्नुभयो । हामी माओवादीहरू र सबै कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्छ भन्ने कुरा गर्नु भएको छ । म उहाँहरूलाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु । र, आफ्नो तर्फबाट पार्टी एकताको लागि सम्पूर्ण काम पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । उहाँले यो पनि भन्नु भयो–हामी एकताबद्ध भएर २०६४ मा हामी पुर्याएरै छोडछौं माओवादी आन्दोलनलाई भन्नु भयो । म त्यसको निम्ति पनि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु । र मैले नेतृत्वको हैसियतले आफ्नो ठाउँबाट गर्नुपर्ने सबै काम २०८४ लाई २०६४ मा फर्काउनका लागि गर्ने संकल्प मैले प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा मैले घोषणा गरिसकेको छु एउटा नयाँ मोड नेपाली क्रान्तिको इतिहासमा नयाँ मोड दिने गरी अगाडि बढ्ने संकल्प मैले गरिसकेको छु, तपाईँहरूले सुनिसक्नु भएको छ । र, त्यसयता फेरि एकचोटी समाजवादी आन्दोलनको निम्ति नेपालका सबै मजदुर, किसान, सबै उत्पीडित, वर्ग जाति, लिङ्ग सबैको हक अधिकार प्राप्तिको निम्ति फेरी एउटा नयाँ अभियान, फेरी एउटा नयाँ आन्दोलन, फेरी एउटा नयाँ एकताको निम्ति अगाडि बढ्ने संकल्प मैले लिएर नै प्रतिनिधिसभामा पनि र प्रतिनिधिसभामा विपक्ष दलको नेताको हैसियतले पनि जनतालाई मैले अपिल गरेको थिए ।’

विगतमा समाजवादको आधार निर्माणका लागि उत्पादन ब्रिगेड बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *