रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्न सक्दैन : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दाबी गरेका छन् ।

शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग भएका दलहरूले एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । महासचिव विप्लवले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भुलभुलैयामा पार्न खोजे पनि त्यो सम्भव नभएको बताए ।

उनले देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने बताए ।

उनले भने ‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन । यो एकताबद्ध हुन्छ । यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौँ । तर २०६४ साल जन्मिन्छ नेपालमा । तर उस्तै प्रकारले होइन । उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ । यो कुरा जनताले कहिल्यै पनि भुल्ने छैनन् । केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरूलाई देशलाई भुलभुलैयामा पार्न खोजेका छन् । कदापि सम्भव छैन । यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ । हामीले भनेका छौं । नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौं । यहाँ अरु कसैले पनि गर्न सक्दैन । हाम्रो दाबी छ । त्यसकारण यहाँ कुरा के छ भने एकचोटी एकताबद्ध हुने हो । एकताबद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन । हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन ।’

महासचिव विप्लवले रातारात जन्मेको कुनैपनि पार्टीले देश र जनताको हित गर्छ भन्नेकुरा सम्भव नहुने पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *