पोखराका दुई स्थानमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला भए कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि कास्की प्रशासनले पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् । पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको कास्की प्रशासनले जनाएको छ ।

सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधाज्ञा घोषित क्षेत्रमा ५ जनाभन्दा बढी भेला भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीले रास्वपा सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपा कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

यता सहकारी पीडितहरु पनि आन्दोलनमा रहेकाले दुई पक्षबीच हुनसक्ने झडपलाई मध्यनजर गर्दै उक्त क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *